अब अर्ग्यानिक जीवनशैली अपनाउने कि ?

0
82

अहिले देशमा सबैभन्दा बढी प्रगति के कुरामा भएको होला ? अरु कुरा छाडौं । धमाधम अस्पताल बनिरहेका छन् । नयाँ नयाँ मेडिकल इक्विपमेन्ट भित्रिइरहेका छन् । तपाईं/हाम्रा छोराछोरी चिकित्सा शिक्षा आर्जन गरिरहेका छन् । हामीलाई लाग्छ, यो खुसीको कुरा हो ।

तर, अस्पताल बनाउनै नपर्ने, मेडिकल इक्विपमेन्ट प्रयोग गर्नै नपर्ने, डाक्टर बन्नै नपर्ने अवस्था भइदिएको भए कति राम्रो हुन्थ्यो ?

भलै, यी स्वैरकाल्पनिक कुरा जस्तो मात्र लाग्न सक्छ । तर, हाम्रा पूर्खाहरुले कहाँ अस्पताल खोजे ? कहाँ उपचार गराए ?

उनीहरु अग्र्यानिक युगमा हुर्किए । आफ्नै बलबुतोमा पेट भेर । शारीरिक श्रम गरे । साँझ-बिहान पसिना चुहाए । त्यही कारण उनीहरु निरोगी भए । जवान भए ।

किन भरिदैछ अस्पतालको शैया ?

अहिले हामी रोगी छौं, त्यही भएर अस्पतालको संख्या बढ्दो छ । हामी जति-जति रोगी हुँदैछौं, उत्तिनै अस्पतालको शैया भरिदैछ । कतिसम्म अवस्था छ भने, अहिले अस्पतालमा रोगीको खचाखच भिड छ । रोगीको संख्या बढेकाले उपचार विधी अहिले सेवाभन्दा बढी व्यापार भएको छ । रोगको मोलमोलाई गर्नेहरु बढेको बढेकै छ । अस्पतालमा पुग्नसाथ तपाईं/हामीले अन्धधुन्ध पैसा खर्च गर्नुपर्ने बाध्यता छ ।

हामी किन रोगी भयौ ?

हामी रोगी हुनुमा अहिलेको पर्यावरण, खानपान धेरै कारण छन् । र, मूख्य कारण त हामी स्वयम् हौ । किनभने हामीलाई अहिले सुविधा चाहिएको छ । आरम चाहिएको छ । एक पाइला हिँड्न पनि जाँगर चल्दैन ।

एकातिर हामी सुविधाभोगी हुँदैछौं । अर्कोतिर स्वादमा लोभी भएका छौं । हामीलाई आरम चाहिन्छ । हामीलाई मिठोमसिनो चाहिन्छ । यस किसिमको जीवनशैलीले पनि हामीलाई रोगी बनाउँदै लगेको छ । हाम्रो शरीर रोगहरुको भण्डार बनाउँदै लगेको छ ।

अहिले कुनै अस्पताल पुग्नुपर्छ, विरक्तलाग्दो दृश्य देखिन्छ । कोही ऐया-अत्था गरिरहेका छन्, कोही निरासाले गुम्सिएका छन्, कोही अत्यासले छटपटिएका छन् । अस्पताल पुगेपछि हाम्रो हातगोडा गल्छ । मन बेचैनी र निरासाले भरिन्छ । हामी मनमनै पुकार गर्छौं, ‘भगवान् ! अस्पतालमा पाइला टेक्न नपरोस् ।’

अनियन्त्रित मन

त्यही अस्पतालबाट चार पाइला अगाडि बढेपछि हाम्रो मन बहलिन्छ । हामीलाई रेष्टुरेन्टमा पाक्दै गरेको मम, चाउमिन खान मनलाग्छ । चुरोट सल्काउन मन लाग्छ । मदिरा सेवन गर्न मन लाग्छ । हामी मनलाई नियन्त्रण गर्न सक्दैनौ । मनको आदेशमा आफ्नो इन्दि्रय चलाउँछौं । हाम्रो शरीरले थेग्दैन । एकातिर व्यायाम गरिदैन, अर्कोतिर स्वस्थ्य खानपान गरिदैन । शरीरले कहिलेसम्म थेग्ने ?

हामीले खाएको खाना राम्ररी पच्दैन । पाचन यन्त्रलाई त्यो बोझिलो बन्छ । शरीरमा बोसो जम्छ । बोसोले भित्री अंगको कार्यसंचालनमा अवरोध पुर्‍याउँछ । नसामा, कलेजोमा, मुटुमा बोसोको असर पर्न थाल्छ । मुटुले राम्ररी रगत पम्प गर्न सक्दैन । हामीलाई कमजोरी अनुभव हुनथाल्छ । चक्कर लागेको भान हुन्छ । औडाह वा बेचैनी हुन थाल्छ । हामी नजिकैको अस्पतालमा गएर स्वास्थ्य परीक्षण गर्छौं । परीक्षणले उच्च रक्तचाप बढेको देखाउँछ । मधुमेहले गाँजेको देखाउँछ । कोलोस्टोरले सताएको देखाउँछ । थाइराइडले समातेको देखाउँछ ।

हामी घर र्फकदा हाम्रो हातमा औषधीको पोको पन्तुरो हुन्छ ।

रोग लागेपछि जीवनशैली परिवर्तन ?

यो अवस्था आइसकेपछि बल्ल हामी चुरोट र मदिरा कम गर्छौं । चिल्लो, चाप्लो खाना छाड्छौं । जंकफूड नियन्त्रण गर्छौं । मौका परे बिहान बेलुकी दौडन निस्कन्छौं । हल्काफुल्का ज्यान तन्काउँछौं । तर, रोग लागिसकेपछिको अवस्थामा त्यसबाट मुक्ती पाउन निकै ठूलो कसरत गर्नुपर्छ ।

त्यसो भए के गर्ने त ?

रोग लाग्नुअघि नै संभावित समस्यालाई बुझ्ने । भोलिका दिनमा मेरो शरीर रोगी होलान् । थला परिएला । औषधीको भरमा बाँच्नुपर्ला । अस्पताल धाइरहनुपर्ला । यो कुरा आज नै सोच्नुपर्छ । अतः भोलिका संभावित कठिनाइबाट बच्न आज नै स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ ।

अहिले हामीलाई जे जति रोग लागेका छन्, अधिकांश रोग खराब जीवनशैलीको कारण लाग्ने गरेको छ । केही वंशानुगत र केही सरुवा रोग हुन सक्छ । तर, यस्ता रोगहरुबाट मुक्ति पाउनका लागि पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काइदा भनेको स्वास्थ्य जीवनशैली नै हो ।

सुपाच्य खान, सक्रिय दैनिकी र सकारात्मक मन

स्वास्थ्य जीवनशैलीमा सन्तुलित र सुपाच्य खानेकुरा, नियमित र सक्रिय दैनिकी, सकारात्मक र उत्साहित मानसिकता आवश्यक्ता हुन्छ । यसलाई हाम्रा पूर्खाहरुले उचित आहार, उचित विहार र उचित विचार भनेर व्याख्या गरेका छन् ।

स्वास्थ्य जीवनशैलीका लागि हामीसँग त्यही किसिमको आधार पनि चाहिन्छ । हामीले धेरैजसो त खानेकुराको माध्यामबाट रोग पैदा गर्छौं । हाम्रो शरीरमा खानेकुराकै माध्याबाट रोग प्रवेश गर्छ र खानेकुराकै माध्यामबाट रोग हुर्कन्छ ।

जबकी खानेकुरा भनेको शरीरका लागि औषधी हुनुपर्ने, विष होइन । खानेकुराले स्थुल शरीर निर्माण गर्नुपर्ने हो । हड्डी तथा मांशपेसीलाईर् बलियो र तन्दुरुस्त बनाउनुपर्ने हो । शरीरका भित्री अंगहरुको कार्यसंचालनलाई चुस्त बनाउनुपर्ने हो । तर, अहिले हामीले जे खाइरहेका छौं, त्यसले शरीरमा विष पैदा गरिरहेको छ । यहि कारण त अहिले शरीरको शुद्धिकरण गर्ने विधीहरु लोकपि्रय हुँदैछ ।

शरीर शुद्धिकरण गर्नुपर्ने आवश्यक्ता त्यही कारण पैदा भएको छ कि, हाम्रो शरीर विषाक्त हुँदैछ । शरीरभित्र विष भण्डार बढ्दैछ ।

शरीरलाई विष भण्डार बन्न नदिने कि ?

शरीरलाई शुद्धिकरण गरेर स्वास्थ्य जीवनयापन गर्नु आफ्नो ठाउँमा छ । त्यो भन्दा पनि राम्रो त के भने, शरीरलाई विष भण्डार बन्नै नदिने । यसका लागि हामीले यस्तो खानपान गर्नुपर्छ, जो अग्र्यानिक होस् । प्राकृतिक होस् । जसले शरीरभित्र कुनै विकार पैदा नगरोस् ।

हो, यसका लागि अब हाम्रो भान्सा अग्र्यानिक हुन जरुरी छ । भान्सा अग्र्यानिक हुनका लागि हाम्रो खेती वा करेसाबारी अग्र्यानिक हुनुपर्छ । हामी बजारमा आश्रति भइरह्यौं भने विषालु खानेकुरा हाम्रो भान्सामा भित्रिने क्रम रोकिदैन । त्यसैले जे जति उपलब्ध छ, आफ्नै खेतीपाती गरौं । अग्र्यानिक खेतीबालीबाट आवश्यक अन्न, सागपात खरिद गरौं । सस्तो र सजिलोको लागि बजारमा आएजति सबै किसिमको खानेकुरा सेवन नगरौं ।

हुन त कतिपयलाई खेतीपातीमा रुची लाग्दैन । कतिलाई समय हुँदैन । कतिले यसलाई समयको वर्वाद ठान्छन् । तर, तपाईंको सानो करेसाबारी छ, सानो बगैंचा छ, सानो बार्दली छ, सानो छत छ भने त्यहाँ पनि खेती गर्न सकिन्छ । यसले हामीलाई अग्र्यानिक खानेकुराको अभाव मात्र पुरा गरिदिदैन । शरीरलाई सक्रिय र जाँगरिलो पनि बनाइदिन्छ ।

अहिले तपाईंलाई यस्तो काम गर्ने जाँगर छैन, फुर्सद छैन, रुची छैन । त्यसो हो भने, भोलि तपाईंले अस्पतालमा बसेर यो भन्दा बढी समय गुजार्नुपर्नेछ । यो भन्दा बढी दुःख र कष्ट झेल्नुपर्नेछ । त्यसैले भोलिका संभावित अप्ठ्यारालाई सम्झेर आज नै जीवनशैली परिवर्तन गर्नु उत्तम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here