आज १०९ औँ अन्तर्राष्ट्रिय नारीदिवस : राष्ट्रपतिकाे सन्देश- ‘महिलाविरुद्धका सबै विभेद र उत्पीडनको अन्त्य गराैँ’

0
32

काठमाडाैँ । आज १०९ औँ अन्तर्राष्ट्रिय नारीदिवस, यस अवसरमा विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ ।

महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारीदिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर नै मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारीदिवस मनाइएको थियो । सो मितिमा पहिलोपटक संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदूूरहरुको विद्रोहको सम्झनामा यस दिवसको आयोजना गरेको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे । फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।


राष्ट्रपतिद्वारा शुभकामना

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नारी दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

१०९ औँ अन्तर्राष्ट्रिय नारीदिवस, २०१९ को पूर्वसन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु ।’

यस वर्षको अन्तर्राष्ट्रिय नारीदिवसको राष्ट्रिय नारा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ रहेको छ । जसले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।

‘संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालार्इ प्राथमिकताका साथ उठाएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यक्रमहरुको समेत थालनी गरिसकेको अवस्था छ । यी सबै प्रावधान र प्रयासहरुलार्इ सफल बनाउन सकेमा सबै महिलाहरुका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ ।’

उहाँले नारीदिवसको अवसरमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो दिवसले हामी सबैलाई महिलाको हक, अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील भईरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here