झापा गोल्डकपको उपाधि आर्मीलाई, उपाधि उचाल्ने झापाको सपना अधुरै

0
10

बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । उपविजेता झापाले नगद ६ लाख ५ हजार पाएको छ ।

झापाले भने यस पटक पनि उपाधि जित्न सकेन । २२ औं मिनेटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल गरेपछि डी बक्सबाहिरबाट पाएको फ्रीकिकलाई सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

यसैगरी ३३ औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर बनाए । नवयुग श्रेष्ठले प्रहार गरेको बल क्लियर गर्न नसक्दा खवासले जाली चुमाएका थिए । तर ४३ औं मिनेटमा झापा ११ ले एक गोल फर्काएको थियो । फ्रान्सिसले गोल गर्दै पहिलो हाफमा अग्रता दुई एकमा झारेका थिए ।

५४ औं मिनेटमा झापाका लागि हेमन गुरुङले गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए । ७५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गदै आर्मीलाई ३–२ को अवस्थामा लगेका थिए । ८५ औं मिनेटमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४–२ को अग्रता बनाउन पुगेको थियो । त्यसपछि पनि आर्मीले गोल थपेको थियो । टेकबहादुर बुढाथोकीले इन्ज्युरी टाइममा गोल थप्दै आर्मीलाई ५–२ काे अवस्थामा लगेका थिए ।

अन्तिम समयमा झापा ११ ले थप एक गाेल गर्दै अन्तर ५- ३ मा झारेकाे थियाे । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि पनि हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here