तथ्यांकः हरेक वर्ष ३ हजार नेपालीको मृगौला फेल !

0
81

प्रकाशित मिति : Mar 14, 2019
काठमाडौं । हरेक वर्ष करिब ३ हजार नेपालीको मृगौला फेल हुने गरेको तथ्यांक छ । जो रोगको अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्छन् । दुखाइ नासक औषधीको जथाभाबी प्रयोगले पनि नेपालमा मृगौला रोगी बढेको चिकित्सकले औंल्याएका छन् ।

पिसाबमा प्रोटिन र रगतमा क्रिएटिनिनको मात्रा परीक्षण गराए मृगौलाको अवास्था थाहा हुन्छ । बेलैमा रोग पहिचान भए मृगौला फेल हुनबाट जोगाउन सकिन्छ । सकुन्जेल सहने र सिकिस्त भएपछि मात्रै अस्पताल जाने प्रबृत्तिले नेपालमा मृगौला फेल हुने क्रम बढ्दो छ । मृगौला फेल भएपछि अस्पताल पुग्दा ‘डायलासिस’ वा प्रत्यारोपणको मात्र विकल्प हुन्छ ।

मधुमेह, उच्च रक्तचाप, आधुनिक जीवनशैली, असंयमित खानपान, शारीरिक अभ्यासको कमी, मोटोपना, धुम्रपान, ‘जंकफुड’ अधिक खाने बानी र दुखाइ नासक औषधिको अत्यधिक सेवनले मृगौलासम्बन्धि समस्या बढाउँछ ।

दुखाइ नासक औषधीको ‘साइड इफेक्ट’ मृगौला र कलेजोसँग जोडिएका रोगको रूपमा आउँछ । आइब्युप्रोफेन, किटोप्रुफेन, डाइक्लोफेनाक सोडियम, निमेसुलाइडलगायत दुखाइ नासक औषधी धेरै खाँदा मृगौलामा हानी गर्छ । र, मृगौला फेल हुने सम्भावना बढाउँछ ।

मृगौलाले रगत शुद्द पार्छ । रक्तचापसमेत नियन्त्रित गर्छ । विषाक्त पदार्थसँगै अनावश्यक पानीलाई निकालेर शुद्घीकरणको काम गर्छ । सोडियम र पोटेसियमको मात्रा नियन्त्रणसँगै यसले रगतको अम्लियताको समेत नियन्त्रण गर्छ । रातो रक्त कण बनाउन सघाउँछ र शरीरमा क्याल्सियमको मात्रा सही राखेर हाडलाई बलियो बनाउँछ ।

मृगौलामा प्रत्येक मिनेट १ लिटरदेखि १२ सय मिलिलिटरसम्म रगत पुग्छ । मृगौला रोगबाट बच्न दैनिक व्यायाम गर्ने, पेन किल्लर औषधी धेरै सेवन नगर्ने, दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउने गर्नुपर्छ । धुम्रपान र मद्यपान गर्नु हुँदैन भने वर्षको एकपटक मृगौलाको कार्य क्षमता परीक्षण गराउनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here