काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अनलाइन तथा सामाजिक सञ्जाललाई व्यवस्थित गरिने बताउनु भएको छ । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चद्वारा आइतबार आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले त्यसको लागि सूचना प्रविधि विधेयक ल्याइएको बताउनुभयो ।
‘सूचना प्रविधिको विकास र प्रवद्र्धनलाई व्यवस्थित र मर्यादित बनाउनु आवश्यक छ, उहाँले भन्नुभयो, ‘सरकारले त्यसको लागि सूचना प्रविधि विधेयक ल्याएको हो । अब प्रेस काउन्सिलमा दर्ता नभएका अनलाइन बन्द गर्छौ । सामाजिक सञ्जालमा कानुन विपरीतका बिषय पोष्ट गर्नेलाई पनि कारबाही हुन्छ ।’
मन्त्री बास्कोटाले प्रविधिको विकाससँगै समाजमा अनेक विकृति आएको उल्लेख गर्नुभयो । ‘प्रविधिको विकासले मानवीय जीवजलाई सहज बनाएको छ’ उहाँले भन्नुभयो, ‘तर यसले समाजमा केही विकृति समेत ल्याएको छ । प्रविधिको सही व्यवस्थापन नै अहिले मुख्य चुनौति हो ।’मन्त्री बास्कोटाले विधेयक ल्याउँदैमा प्रेस स्वतन्त्रताको चिन्ता गर्न नहुने बताउनु भयो ।
‘ विधेयकबाट कोही पनि डराउनु वा आत्तिनु पर्दैन’ उहाँले भन्नुभयो, ‘विधेयकमा विद्युतीय माध्यमबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै साईबर सुरक्षाको प्रबन्ध गर्नु तथा डिजिटल हस्ताक्षरसम्बन्धी नयाँ व्यवस्था सहितका कयौं राम्रा विषय समावेश भएको छ ।’
मन्त्री बास्कोटाले स्वतन्त्रतालाई सूचना प्रविधिसँग जोडेर भ्रम फैलाउने नहुने बताउनु भयो। ‘सामाजिक सञ्जाल र पत्रकारिताको विषय फरक हो’ उहाँले भन्नुभयो, ‘ सामाजिक सञ्जाल र पत्रकारिता आआफ्ना मूल्य, मान्यता र मापदण्डभित्र बस्नु पर्छ।’