नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

0
24

काठमाडौँ, फागुन १८ गते । मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग हुने इन्टरनेट विश्वका अन्य देशहरूको तुलनामा पनि महँगो रहेको पाइएको छ । प्रतिवेदनमा समेटिएका इन्टरनेटसम्बन्धी विभिन्न वर्गीकृत सूचकमध्ये मूल्यका हिसाबले विश्वका एक सय देशको सूचीमा नेपाल ८४औँ स्थान पारेको छ । त्यस्तै प्रतिवेदनमा समेटिएका पाँचवटा दक्षिण एसियाली मुलुकमध्ये नेपाल पुछारमा छ । सम्बन्धित देशको आयस्तर र इन्टरनेटको मूल्यका आधारमा यो सूची तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाली देशमध्ये भारतमा इन्टरनेटको मूल्य सबैभन्दा सस्तो रहेको छ । एक सय मुलुकमध्ये भारत दसौँ स्थानमा छ । त्यसपछि श्रीलङ्का रहेको छ । समग्रमा भने श्रीलङ्काले ४३औँ स्थान पाएको छ । ४७औँ स्थानमा रहेको पाकिस्तान दक्षिण एसियाली मुलुकको सूचीमा भने तेस्रो स्थानमा छ । प्रतिवेदनमा बङ्गलादेश ७०औँ स्थानमा रहेको छ ।

क्यानाडा विश्वमै इन्टरनेट सस्तो भएको मुलुक सावित भएको छ । संयुक्त राज्य अमेरिका, फ्रान्स, स्विडेन र बेलायत सस्तो इन्टरनेट भएका मुलुकको सूचीको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । अफ्रिकी मुलुक कङ्गो सबैभन्दा महँगो इन्टरनेट भएको देशमा परेको छ । नाइजर, मलावी, लाइबेरिया र सियरा लियोन महँगो इन्टरनेट भएका मुलुकमध्ये अन्तिममा क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् ।

प्रतिवेदनमा इन्टरनेटको समावेशीता छुट्याउन विभिन्न चारवटा सूचक प्रयोग गरिएका छन् । मूल्यबाहेक इन्टरनेटको उपलब्धता, सान्दर्भिकता र यसको प्रयोग योग्यतालाई आधार बनाइएको छ । इन्टरनेटको उपलब्धताको हिसाबले अध्ययनमा समेटिएका एक सय देशमध्ये नेपाल ७४औँ स्थानमा छ । सान्दर्भिकताको सूचीमा नेपाल ६४औँ स्थानमा पर्न सफल भएको छ । चार सूचकमध्ये इन्टरनेटको प्रयोग योग्यताको सूचीमा नेपाल तुलनात्मक रुपमा अगाडि छ । यो सूचीमा नेपाल ४१औँ स्थानमा छ । इन्टरनेटमा आबद्ध हुनसक्ने क्षमता, सीप, त्यसको स्वीकार्यता र सहयोगी नीतिका आधारमा इन्टरनेटको प्रयोग योग्यता मापन गरिएको प्रतिवेदनमा उल्लेख छ । नीतिगत व्यवस्थाको हिसाबले नेपालले २३औँ स्थान प्राप्त गरेको छ ।

इन्टरनेटको समावेशीताको समग्र सूचीमा भने नेपाल ७२औँ स्थानमा छ । समावेशीतालाई पनि प्रतिवेदनमा मुलुकको आयस्तरको आधारमा छुट्याइएको छ । न्यून आय भएका मुलुकमध्ये समावेशी इन्टरनेटको हिसाबले नेपाल पहिलो स्थानमा छ । नेपालपछि रुवान्डा, तान्जानिया, सेनेगल, युगान्डा, बेनिन, इथियोपिया, माली, मदागास्कर, बुर्किना फासो क्रमशः दोस्रोदेखि दसौँ स्थानमा परेका छन् । कुल एक सय अङ्कमध्ये नेपालले यो सूचीमा ६०.९ अङ्क प्राप्त गरेर पहिलो भएको हो । विश्वास रेग्मी गोर्खापत्र अनलाइन बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here