नेपाली अनलाइन धोबीः बाइक सरर लुगा घरघर

0
35

नेपाली धोबीः बाइक सरर लुगा घरघर

संसारमा कयौँ मानिसले आफूले जुन विषय पढ्यो, त्यही विषयसँग मिल्ने काम गर्दैनन् । कतिपयले अध्ययन गरेको विषयभन्दा बाध्यताले फरक काम गर्छन् भने कतिपयले रहरले गर्छन् ।

ऋचा धमला, विकास सुवेदी र निकुञ्ज भण्डारीको पनि रहर फेरियो । उनीहरुको पढाइ एकातिर थियो भने काम अर्कैतिरको छ । झट्ट सुन्दा पढेलेखेकाले पनि लुगा धुने कामलाई व्यावसायिक रुपमै अँगाल्छन् र ? भन्ने जस्तो लाग्छ तर उनीहरुले गरिरहेका छन् । उनीहरुको काम हो– परम्परागत नेपाली धोबीले पेसागत रुपमै अँगालेको, ‘लुगा धुने काम ।’

हो, स्नातक गरेका यी तीन युवा लुगाधुने काम गर्छन् । त्यो पनि आधुनिक तरिकाले ।

अस्ट्रेलियाबाट बिएस्सी नर्सिङ गरेकी काठमाडौँकी ऋचा २६ वर्षकी भइन् । स्कटल्यान्डबाट बिआइटी गरेका चितवनका विकास र नेपालमा बिबिएस गरेका झापाका निकुञ्ज २८ का भए । लुगा धुने पानी नभएर यी तीनै जनालाई समस्या भएपछि उनीहरुले लुगा धुने व्यवसायको सुरुवात गरे । तीनै जनाले काठमाडौँमा पानीको अभाव महसुस गरेपछि र आफूजस्तै अन्यको लुगा धुन नभ्याउने समस्या देखेपछि यसैलाई व्यावसायिक रुपमा किन नअँगाल्ने भन्ने सोच पलायो ।

आफूले पनि यो समस्या भोगिरहेको र अरुलाई पनि सजिलो बनाइदन ‘लुगा धुने’ व्यवसाय गर्ने मनसाय बनाए उनीहरुले । उनीहरुको नारा नै गज्जब छ, ‘शनिबारको दिन छोराछोरीलाई घुमाउन लाने कि लुगा धुने ?’

फेसबुकले सहज

उनीहरु तीनै जना साथीको एउटा पार्टीमा गएका बेला भेट भयो । त्यहीँ उनीहरुबीच चिनजान र परिचय जम्यो । त्यसपछि फेसबुकमा थप मित्रता मौलायो । तीनै जनाको फेसबुकमा कुरा हुन थाल्यो ।

यसपछि नयाँ नयाँ कुरा सेयर गर्ने बानीका कारण बेलाबेलामा भेटघाट पनि गर्न थाले । ऋचा भन्छिन्, ‘हाम्रो भेटघाट र कुराकानीको माध्यम फेसबुक बन्यो । हामीले फेसबुकलाई सही मानेमा सदुपयोग ग-यौँ, फेसबुकले लुगा धुने व्यवसाय खोल्नका लागि सहजीकरण ग-यो ।’ उनीहरु फेसबुकमै कुरा गरेर बेलाबेलामा भट्ने अनि नयाँ केही व्यवसाय गर्ने सल्लाह गरेको बताउँछन् ।

कुरा गर्दै जाँदा तीनै जनालाई काठमाडौँमा पानीको अभावले सताएको कुरा निस्कियो । विकासको कपडा धुन दिएको ठाउँमा कपडासमेत बिगारिदिएको कुरा समेत निस्कियो । ऋचा र दिकुञ्जलाई पनि त्यस्तै समस्या परेको रहेछ । जमघट हुँदा कपडा धुने व्यवसाय पो गर्नु पर्छ कि क्या हो भन्ने ठट्टा समेत चल्न थाल्यो तर त्यो ठट्टा साँच्चै व्यवहारमा उत्रियो ।

कसरी भए पढेलेखेका धोबी

ऋचा, विकास र निकुञ्जले लुगा धुने व्यवसाय दिमागमा बुन्न थाले । धोबीको पेसाले उनीहरुको दिमागमा तान बुन्न थाल्यो तर अर्को विचारको अवधारणा पनि उनीहरुको दिमागले बुनेछ । दिमागले बुनेको त्यो विचार हो, मार्केटको रिसर्च । कुनै पनि व्यवसायमा हात हाल्नु भन्दा अगाडि रिसर्च गर्नुपर्छ भन्ने तीनै जनालाई लाग्यो । अध्ययन बिनाको लगानी जोखिम हुने ठानेर उनीहरु सबैभन्दा पहिला बजारको अध्ययन गर्न थाले । उपत्यकाका विभिन्न ठाउँमा विद्यार्थी, जागिरे, गृहिणी लगायतको प्रतिक्रिया लिए । साथीभाइका कुरा पनि सुने । प्रायः सबैबाट राम्रै प्रतिक्रिया आयो । आफन्तको पनि सुझाव लिए तर कतिपय आफन्तले पढेलेखेकाले पनि यस्तो लुगाधुने पेसा गर्ने ? भनेर हतोत्साही बनाए ।

तर उनीहरुलाई यो कामले आकर्षित ग-यो । यसमा उनीहरुले भविष्य देखे । तीनै जनाले आ–आफ्नो परिवारमा पनि सल्लाह गरे । ऋचालाई पनि सुरुमा आफ्ना अभिभावकलाई बुझाउन अप्ठेरो प-यो । ‘बिएस्सी नर्सिङ गरेकी छोरी, लुगाधुने पेसा गर्छु भन्दा अभिभावक नझस्किउन पनि कसरी !’ ऋचाले भनिन्, ‘तर मैले आफ्ना अभिभावकलाई विश्वस्त पारेँ । परिवारले पनि लगानी गरिदिने वचन दिनुभयो ।’

विकास र निकुञ्जलाई पनि ऋचालाई जस्तै सुरुमा त आफ्ना अभिभावकलाई विश्वस्त पार्न कठिन भयो तर अभिभावकलाई विश्वस्त पारे, उनीहरुले । विकासको भने अलि फरक रहेछ । उनले आफैँ पनि कमाएर राखेको केही रकम थियो । त्यसैले उनलाई परिवारको सहयोग लिइरहनु परेन ।

नाम जु-यो ‘नेपाली धोबी’

लुगाधुने व्यवसाय गर्ने सहमति भएपछि के नाम राख्ने भन्ने बहस गरे उनीहरुले । विभिन्न नाम पनि आए तर उपयुक्त नाम भने नेपाली धोबी नै हो भन्ने कुरामा तीनै जनाको एक मत रह्यो । नेपाली धोबी शब्दले नेपालीपन र नेपाली धोबीको परम्परागत पेसासमेत भएकाले नेपाली माटो सुहाउँदो शब्द राखिएको ऋचा बताउँछिन् । ‘हामी बिजनेस गर्ने सोचमा थियौँ,’ निकुञ्जले भने, ‘नयाँ किसिमको व्यवसाय गर्न तीनै जनाको मन मिल्यो र व्यवसाय थाल्यौँ ।’

सुरु लगानी पाँच लाख 

तीनै जनाले सुरुमा प्रतिव्यक्ति पाँच लाखका दरले पैसा जम्मा गरे । १५ लाख भयो तर लगानी गर्दै जाँदा पुगेन, लगानी थप्दै गए । दुई वटा मेसिन किन्दैमा १९ लाख झ्वाम भएछ । उनीहरुले १५ दिनको ६० हजार तिरेर लाउन्ड्रीसम्बन्धी तालिमसमेत लिए । यस तालिमपछि उनीहरु लुगा धुने मेसिन, केमिकल, सुकाउने तरिका लगायतमा पनि पारंगत भए।

बजारको सर्भे र पैसाको जोडजाम भएपछि ‘नेपाली धोबी प्रा.लि.’ दर्ता गरेको बताउँछन्, विकास । विकास भन्छन्, ‘काठमाडौँको गैरीधारामा अफिस राख्यौँ, लुगा धुने फ्याक्ट्री चाहिँ आरुबारीमा ।’

अनलाइन सेवा 

अहिलेको जमाना नै अनलाइनको भएकाले ‘नेपाली धोबी डट कम’ पनि उनीहरुले दर्ता गरे । २०७४ चैत १५ बाट सेवा दिन थालेका उनीहरुले पछिल्लो समय अनलाइनबाटै अर्डर आउन थालेकामा खुसी लागेको छ ।

सुरुमा  फोटोकपी पेपरमा लेखेर सडकका खम्बामा टाँसेर समेत नेपाली धोबीको विज्ञापन गरेको बताउँछिन्, ऋचा । अहिले भने अनलाइन लाउन्ड्री सेवा दिइरहेको बताउँछन्, निकुञ्ज ।

फस्ट कल आउँदा खुसी

पहिलो पटक लुगा धुने अर्डर फोनमा आएको सम्झँदै प्रफुल्लित मुद्रामा ऋचा भन्छिन्, ‘फस्ट कल आउँदा हामी त कति खुसी भएका थियौँ भने साध्य नै छैन । हामी त आफैँ बाइकमा झोला बोकेर लुगा लिन गएका थियौँ ।’ त्यो पहिलो कलले व्यवसाय चल्ने हौसला दियो उनीहरुलाई । केही महिनासम्म आफैँ लुगा अर्डर लिने, आफैँ ल्याउने र आफैँ पु-याउने गरे उनीहरुले किनभने उनीहरुलाई बजारको प्रतिक्रिया प्रत्यक्ष रुपमा अझै बुझ्नुु थियो ।

यसरी हुन्छ काम 

अनलाइन र फोनमा उनीहरुलाई लुगा धुने अर्डर आउँछ । अर्डर आएपछि डेलिभरी स्टाफ मोटरसाइकल तथा स्कुटरमा घरमै पुग्छन् । उपभोक्ताका लुगा तौलिन्छन् र धुनका लागि कपडा झोलामा बोकेर फर्किन्छन् । कपडा बोक्ने विशेष किसिमको झोला हुन्छ । कुनै कपडा मेसिनले धुन्छ भने कुनै हातैले धोइन्छन् । कपडाको प्रकार हेरेर कसरी धुने भन्ने निधो गरिन्छ । कपडा सुकिसेकेपछि पुनः घरमै पु-याइन्छ ।

लुगा लिन जाने ठाउँमा लुगा जोख्ने मेसिन, स्टाम्प प्याड र बिल सबै डेलिभरी स्टाफले बोकेर जाने विकास बताउँछन् । चार किलो भन्दा धेरै कपडा भयो भने डेलिभरी चार्ज नलाग्ने तर चार किलो भन्दा कम भयो भने डेलिभरी चार्ज लाग्ने उनी बताउँछन् । चार किलो भन्दा कम कपडा लिन आउजाउ गरेको डेलिभरी चार्ज ५० रुपैयाँ लाग्ने गरेको ऋचा बताउँछिन् । कपडा धोए बापतको सेवा शुल्क भने प्रतिकिलो एक सय २० छुट्टै लाग्छ ।

लाउन्ड्री सस्तो 

नेपाली धोबीले प्रतिकिलो लुगा धोएको एक सय २० रुपैँया लाग्छ । लाउन्ड्री र ड्राइ क्लिनिङमा केही फरक छ । लाउन्ड्रीमा कपडा धुँदा सस्तो पर्छ भने ड्राई क्लिनिङमा केही महँगो हुने विकास बताउँछन् । सबै कपडा लाउन्ड्रीमा धुन नमिल्ने बताउँछिन् ऋचा । पेट्रोलले धुने भएकाले ड्राई क्लिनर्स केही महँगो हुने उनको भनाइ छ ।

कोट, साडी, बुट्टा भरेकाजस्ता कपडा ड्राई क्लिनिङमा धुनुपर्ने ऋचा बताउँछिन् । केमिकलसमेत महँगो पर्ने भएकाले ड्राई क्लिनिङमा धोएको कपडा महँगो हुने निकुञ्जको तर्क छ ।

एउटा कोटको सामान्यतः तीन तीन सय पर्ने बतउँछिन्, ऋचा । लाउन्ड्रीमा धोएको कपडा ३६ घण्टा र ड्राई क्लिनिङमा धोएको कपडा ६० घण्टा भित्रमा घरैमा पु-याइदिने ऋचा बताउँछिन् । प्रक्रियासमेत ढिलो हुने भएकाले ड्राई क्लिनिङमा धोएको लुगा फिर्ता गर्न केही ढिलो हुने उनको भनाइ छ ।

विकासका अनुसार एक किलो कपडामा सामान्यतः चार वटा कटन सर्ट र तीन वटा पाइन्ट हुन्छ । कपडा धेरै मैलो छ भने कपडाको तैलमा फरक पर्ने ऋचा बताउँछिन् । घरमा धुँदा पानी तथा समयको समेत अभाव हुने भएकाले आफ्नो सेवा प्रभावकारी रहेको विकासको दाबी छ ।

मासिक दुई लाख कमाई 

ऋचाका अनुसार औसतमा दैनिक ७० किलो लुगा धुने अर्डर आउँछ । प्रतिकिलो लुगा धोएको एक सय २० रुपैयाँ पर्छ । यसरी हेर्दा उनीहरुको दैनिक कमाई ८ हजार ४ सय हुने देखिन्छ । मासिक रुपमा औसत २ लाख ५२ हजार कमाइ हुने देखिन्छ । अहिले खर्च कटाएर केही पैसा मात्रै बच्ने बताउँछन् । तर व्यवसाय सुरु गरेको चार महिनामै कम्पनी नाफाघाटा सन्तुलनमा आउनुलाई ऋचा र निकुञ्जले निकै उत्साहका रुपमा लिएका छन् । पछिल्लो समय दिन प्रतिदिन तीव्र रुपमा अर्डर बढिरहेको ऋचा बताउँछिन् । भविष्यमा राम्रो कमाइ गर्ने लक्ष्य उनीहरुले  लिएका छन् ।
लुगा धुने, सुकाउने, आइरन गर्ने सहयोगी तथा डेलिभरी स्टाफ गरी नौ जनालाई रोजगारी दिन पाएकोमा ऋचा सन्तुष्ट छिन् । यस्ता स्टाफ अझै बढाउन पाए हुन्थ्यो भन्ने उनी सपना पनि बुनिरहेकी छन् ।

विद्यार्थीलाई छुट

नेपाली धोबीले विद्यार्थीलाई विशेष छुट दिने गरेको विकास बताउँछन् । विद्यार्थीलाई पानी, समय र पैसाको समेत अभाव हुन सक्ने भएकाले उनीहरुलाई विशेष छुट दिने गरेको उनी बताउँछन् । अझ कतिपय भाडामा बस्ने विद्यार्थीलाई त लुगा धुन झन् समस्या हुने भएकाले छुटको व्यवस्था मिलाएको कम्पनीको भनाइ छ ।

लाउन्ड्रीमा लुगा धुन लान र लिन जानसमेत विद्यार्थीलाई फुर्सद मिलाउन कठिन हुने भएपछि उनीहरुका लागि विशेष छुटको व्यवस्था गरिएको विकास बताउँछन् ।

सामान्यतः काठमाडौँमा बिहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म अफिस टाइम हुने गर्छ । हप्तामा एक दिन बिदा हुन्छ । कहिले लुगा धुने ? हप्तामा एक दिन आराम गर्ने कि घुमघाम गर्ने कि, कपडा धुने ? यस्तो समस्या भएकालाई नेपाली धोबीको सेवा उपयोगी हुने बताउँछन् विकास ।

तीन मेसिन 

अहिले लुगा धुने र सुकाउने तीन वटा मेसिन रहेको कम्पनीले जानकारी दिएको छ । दुई वटा २५ किलो क्षमताका छन् भने एउटा ५० किलो क्षमताको लुगा धुने मेसिन छ । कामको चाप बिस्तारै बढ्दै जान थालेकाले अझै मेसिन थप्ने योजनामा कम्पनी छ । कतिपय लुगा घाममा सुकाइन्छ भने कति मेसिनमै सुकाइन्छ ।

गुणस्तरमा कमी हुँदैन 

‘कपडा धुने क्रममा कपडाको गुणस्तरीयतामा कुनै कमी आउँदैन । कपडा धुने तरिकाले गुणस्तरीयतामा अहिलेसम्म कुनै समस्या भएको छैन,’ गर्वका साथ विकासले भने, ‘हामी गुणस्तरमा निकै सजग पनि छौँ । अन्ततः गुणस्तरले नै हामीलाई भविष्यसम्म टिकाउने हो, त्यसैले हामीले त्यसमा सम्झौता गर्दैनौँ । साथमा, कम गुणस्तरको काम गर्नेबित्तिकै हामी बजारमा आउट भइहाल्छौँ ।’

गुणस्तरमा सचेत भएका कारण पनि लुगा धुँदा फिल्टर गरेको पानीमा लुगा धोइने उनको भनाइ छ । ऋचा भन्छिन्, ‘एक दिन एक जना उपभोक्ताले लुगा च्यातेर ल्याएको भनी गालीसमेत गरे । धन्न उनको कपडा पहिल्यै च्यात्तिएको भनेर बिलमा लेखिएको थियो र बचियो ।’

कहिलेकाहीँ यस्ता समस्या आउने ऋचा बताउँछिन्, तर गल्ती नहोस् भन्नेमा धेरै सजग हुने गरेको उनी बताउँछिन् ।
नितेश धौवन्जा मुख्य डेलिभरी स्टाफ हुन् । उनका अनुसार कहिलेकाहीँ ग्राहकले कपडा च्यात्तियो भन्न सक्छन् भनेर राम्रोसँग हेरेर मात्रै कपडा ल्याउने गरेको बताउँछन् । इन्दिरा मगर कपडा धुने, सुकाउने कर्मचारी हुन् । उनले भनिन्, ‘अहिलेसम्म कपडा बिग्रने समस्या नभएको र त्यसमा हामी सबै जना सचेत छौँ ।’

कम्पनीले उपभोक्ताको माग अनुसारको लाउन्ड्री सेवासमेत दिने गरेको छ । वास एन्ड फोल्ड, वास एन्ड आइरन प्रिमियम लाउन्ड्री, ड्राई क्लिनिङ सेवा कम्पनीले अहिलेसम्म दिइरहेको विकास बताउँछन् ।

राम्रो बजार, सुन्दर भविष्य

काठमाडौँमा पानीको अभाव र व्यस्त सहरी जीवन शैलीका कारण बिहान ९ः०० बजे देखि बेलुका ६ः०० बजेसम्म सेवा दिने कम्पनीले जनाएको छ ।

उनीहरुले सुरुमा काठमाडौँ उपत्यकाको रिङरोडभित्र मात्रै सेवा दिएको भए पनि अहिले रिङ रोडबाहिर समेत सेवा थपेको बताए ।

विश्वसनीयता तथा सिर्जनशीलतालाई निरन्तर कायम राख्ने र बजारमा टिक्न यो जरुरी पनि रहेको उनीहरुको भनाइ छ ।

अहिले नेपाली धोबीका उपभोक्ता घर, होटल, होस्टेल, रेसिडेन्टियल एरिया, विद्यार्थीलगायत रहेको कम्पनीको भनाइ छ । यस किसिमको सफलतासँगै उनीहरु यतिबेला देशभर सेवा पु¥याउने सपना बुनिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here