पानामासँग बराबरीमा रोकियो ब्राजिल

0
18

रियो दी जेनेरियो : पाँच पटकको विश्वकप विजेता ब्राजिल शनिबार राति खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी  पनामासँग १—१ गोलको बराबरीमा रोकिएको छ । फिफा वरीयतामा हाल ब्राजिल तेस्रो र पानामा ७६औं स्थानमा छन् ।

ब्राजिल प्रिमियर लिगमा सक्रिय एडर्सन, रोबर्टो फर्मिनो, रिचार्लिसन लगायतका प्रभावशाली खेलाडीसहित मैदानमा ओर्लिएको थियो । करिब ७८ प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि ब्राजिलले खासै गतिलो प्रदर्शन गर्न सकेन ।

खेल सुरु भएको ३२औं मिनेटमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो गोल गरेका थिए । उनी इटालियन सिरिए क्लब एसी मिलानबाट ब्यवसायिक फुटबल खेल्छन् । त्यसको चार मिनेटपछि नै पानामाले जवाफी गोल फर्काएको थियो ।

पानामाका लागि डिफेन्डर एडोल्फो माचाडोले जवाफी गोल गरेका थिए । खेलको दोस्रो हाफमा ब्राजिलका लागि रिचार्लिसन र कासेमिरोले गरेको प्रहार सफल हुन सकेन ।

म्यानचेस्टर सिटीबाट ब्यवसायिक फुटबल खेल्ने ग्याब्रियन जिसस र वेस्टहामका विंगर फिलिप एन्डर्सन खेलको दोस्रो हाफमा मैदानभित्र प्रवेश गरे पनि उनीहरुले कुनै कमाल देखाउन सकेनन् । अन्नपूर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here