बुट्टाबारीमा साकेला

0
18

प्रकृतिका पुजारी मानिने राई समुदायका काइला विजुवा साकेला थानमा भूमि पूजा गर्दै विधिवत रुपमा चन्द्र सूर्यको समेत आरधना गर्दै अन्नवाली र सगुन (रक्सी) देवतालाई चढाई रहेका थिए । हेर्दा लाग्थ्यो वुट्टावारी नजिकैको जंगलमा कुनै चलचित्रको छायङ्कन नै भइरहेको छ । वुधवारको टन्टलापुर घामको पर्वाह समेत नगरी राई समुदायका वालकदेखि वृद्धसम्मले साकेला नाचेको देख्दा लाग्थ्यो यहाँ कुनै ठूलै उत्सव नै भईरहेको छ । तर,सो स्थानमा न त कुनै चलचित्रको छायङ्कन भएको थियो न त कुनै सभा समारोह र उत्सवको आयोजना नै गरिएको थियो ।

थियो त केवल किरात राई यायोख्या प्रारम्भिक समिति विर्तामोडले आफ्नो धर्म र संस्कृतिको संरक्षण र सम्वद्धन गर्दै युवा पुस्तालाई आफ्नो संस्कार संस्कृति हस्तान्तरण लागि साकेला नाचको प्रतियोगिता । झट्ट हेर्दा कुनै उत्सव भन्दा कम थिएन उनीहरुको साकेला नृत्य प्रतियोगिता । जिल्लाका विभिन्न स्थानवाट आ आफ्नो भेषभूषामा सजिएर झाँकी सहित आएका राई समुदायका युवा युवतीले वुधवार सो स्थानमा दिनभर साकेल नाचेका छन् ।

 

 

किँरात जातीहरुको विशेष नाच साकेल निकै चर्चित नाच हो । साकेला नाच विशेष गरेर पूर्वी नेपालका विभिन्न भागमा नाच्ने गरिन्छ । साकेला पर्व र साकेला नाचको सुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् ।

किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन् । बैशाख शुक्ल पूर्णीमा र मंसीर शुक्ल पूर्णिमालाई साकेला पर्वका रुपमा लिइन्छ र साकेला नाच प्रस्तुत गर्ने गरिन्छ विर्तामोडका युवा समाजसेवी राजुजंघ कन्दङ्वा भन्छन् – ‘उभौली पर्वको अवसरमा यहाँ साकेला थानमा साकेला नृत्य प्रस्तुत गरिएको हो ।’

साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णिमामा मनाइन्छ किरात राई यायोख्या प्रारम्भीक समिति वुट्टावारीका अध्यक्ष जगतकुमार राईले भने – अहिले हामीले मनाउने भनेको उभौली पर्व हो मंसीरे पूर्णिणामा उद्यौली मनाइन्छ ।

किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति आइनलागोस, सुव्यफाव्य होस’ भन्ने कामनामाका साथ भूमि, पितृ र अन्नको पूजाआरधना गरी साकेला पर्व मनाउने चलन रहिआएको छ किरात राई यायोख्या बिर्तामोड प्ररम्भिक समितिका अध्यक्ष वशन्त कुमार राई भन्छन् –यो हाम्रो संस्कृतिक पर्व हो । यो पर्व हरेक वर्ष भनाइन्छ ।’

किराँत–राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन् राई समुदायका विजुवा भन्छन् – किराँत– राईहरूले आफ्ना यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ ।’

अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।

किराँतहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली साकेलाका अवसरमा यहाँ भेला भएका युवा युवतीले विभिन्न भेष भुषामा सजिएर साकेला नृत्य प्रस्तुत गरेका छन् ।

उभौली मनाउन साकेला थान पुगेका स्थानीयले काईला विजुवा अर्थात नाक्साङले भने वमोजिम ढोल र झ्याम्टा बजाएर देउतालाई खुशी बनाएका थिए । सो अवसरमा १० वर्ष मुनिका कन्य केटीले थुन्से अर्थात रुग्री बोकेर थान प्रवेश गर्दै देउतालाई खुशी तुल्याएका थिए ।

 

देवतासामु थुन्से वोकेर गएका कन्या केटीले देवतासामु अन्नवालीमा सह माग्ने मानिसमा रोग व्याधि नलागोस भन्दै कामना गर्ने र सुम्निमा पारुहाङ्गसंग वल माग्ने गरिन्छ किरात राई यायोख्या जिल्ला कार्य समिति झापाका अध्यक्ष इन्द्रमान चाम्लिङले बताए । उनले भने –सुम्निमा पारुहाङ्गसंग वल माग्ने, अन्नमा सह माग्ने लगायतका काम थुन्से वोक्ने कन्याले पनि गर्छन ।

राई समुदायमा धेरै खाले राई हुन्छन् अध्यक्ष उनी भन्छन्– जति प्रकारका राई उती प्रकारका भाषा पनि बोल्छन् । फरक फरक भाषा बोले पनि साकेला मनाउने तरिका उस्तै उूतै हुन्छ ।’

साकोला थानको पूजा सहित आयोजित समारोहमा स्वागत उपाध्यक्ष योगमाया राईले गरेकी थिइन् । सो समारोहमा बिर्तामोडका पदम सुन्दर कन्दङ्वा र ज्येष्ठ नागरिक जगतवहादुर राईलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा विर्तामोड – ६ का वडा अध्यक्ष सूर्य कन्दङ्वा, सुम्निमा संघकी जिल्ला अध्यक्ष चिजा राई, समाजसेवी राम कन्दङ्वा, धुलावारी प्ररम्भिक समितिका अध्यक्ष ललीत राई लगायतले बोलेका थिए । कार्यक्रमको संचालन धनसरी राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here