भूपु विद्यार्थीद्वारा पञ्चकन्या आधारभूत विद्यालयलाई सहयोग प्रदान

0
29
भोजपुर, २२ कात्तिक। भोजपुरको अरुण गाउँपालिकास्थित पञ्चकन्या आधारभूत विद्यालयलाई सोही विद्यालयमा अध्ययन गरेका भूपु विद्यार्थीहरुले सहयोग प्रदान गरेका छन्। अध्ययन पश्चात् वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा रहेका विद्यार्थीहरुले विभिन्न सामग्री सोही विद्यालयका प्रअ र विव्यस अध्यक्ष डम्बर बहादुर राइलाई प्रदान गरेका हुन्।
मिति २०७६/०७/२१ गते बिहीबारका दिन विद्यालयको अभिभावक भेलाको अवसर पारेर उनीहरुले ४ सेट कम्प्युटर, सीसी टिभी लगायतका अन्य सामग्रीहरु सहयोग गरेको कलाकार समेत रहेका सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य तिलक थापाले जानकारी दिए। सहयोग गर्नेहरुमा बुद्धकुमार श्रेष्ठ (कतार), जगत राई, टीकाराम श्रेष्ठ, बद्री राई (युएई), हरि श्रेष्ठ (कुवेत), ईश्वर श्रेष्ठ र योगेन्द्र राई ( मलेसिया) रहेको समिती सदस्य थापाले बताए।
वैदेशिक रोजगारीका क्रममा रहँदा आफूले कमाएको पैसा बचत गरेर आफू पढेको विद्यालयलाई सहयोग गर्नु महत्वपूर्ण काम भएको भन्दै विद्यालयका प्रअ शालिकराम ढकालले खुशी व्यक्त गरे। त्यस्तै सोही विद्यालयकी शिक्षिका दिलकुमारी ढकालले विदेशमा रहँदा आफ्नो गाँस कटाएर विद्यालयलाई सहयोग गरेर विद्यार्थीहरुले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरिन्।
आफ्नो पसिनाको कमाइले आफू पढेको विद्यालयलाई सहयोग गर्न पाउँदा गर्वको महसुस भएको सहयोगी विद्यार्थीहरुले बताए। सोही कार्यक्रमका अवसरमा स्थानीय अभिभावक चिजामाया राईले आफ्नो दिवंगत पतिको नाममा अक्षय कोषको लागि रु १०, ०२० रुपैँया हस्तान्तरण गरेकी थिइन्। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुले विद्यालयको शैक्षिक सुधारका सम्वन्धमा आ-आफ्नो विचार राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here