मिस मंगोल अब धारावाहिक प्रसारण

0
37

काठमाडौं:एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस मंगोल नेपाल यसवर्ष अर्थात् सन् २०१९ देखि धारावाहिक प्रसारण हुनेछ। प्रशिक्षण अवधिका विभिन्न गतिविधीलाई समेटेर १२ देखि १६ एपिसोडसम्म तयार गरी धारावाहिक रूपमा टेलिभिजन, फेसबुक र युट्युव च्यानलमार्फत प्रसारण गरिनेछ। यसले प्रतियोगीलाई दक्ष, अनुभवी र दर्शकमाझ परिचित हुने अवसर प्रदान गर्नेछ।
प्रतियोगिताको प्रशिक्षण एवं अन्तिम प्रतिस्पर्धाको शैली र विधि पनि परिवर्तन गरिएको छ। प्रशिक्षणका क्रममा प्रतियोगीलाई विधागत प्रतिस्पर्धा गराइनेछ। ट्यालेन्ट, सोसियल एम्बासेडर, स्मार्ट लिसनर, कल्चरल सो, ग्रुप लिडर, पर्सनल ट्यालेन्टसिप, प्यानल डिस्कसनलगायत विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ भने यसलाई विजेता छनोटको आधार पनि मानिनेछ। नयाँ पुस्ताको वृत्तिविकास, व्यक्तित्वविकास, नेतृत्वदायी भूमिका, मौलिक कला एवं संस्कृतिप्रति जागरुक, समाजप्रति उत्तरदायी बनाउन विधागत प्रतिस्पर्धा प्रभावकारी हुनेछ।
०००
प्रशिक्षण विधि
छनोटमा परेका प्रतियोगीलाई तीन साता प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा प्रतियोगितासँग सम्बन्धित विभिन्न विषयका साथै व्यक्तित्वविकास, नेतृत्वदायी भूमिका निर्वाह, आत्मविश्वास, अनुशासन, जनमानस एवं मेडियालाई फेस गर्ने कला, आफूमा लुकेका प्रतिभा प्रस्फुटनलगायत विभिन्न विषयका जानकारीमूलक कक्षा सञ्चालन गरिनेछ। त्यस्तै विभिन्न सेलिब्रेटी, विशेषज्ञ, यसअघिका प्रतियोगी, विजेतासँग अनुभव आदानप्रदान, तीक्ष्णता जाँचका लागि रोमाञ्चकारी गेम, भ्रमणलगायत विभिन्न बौद्धिक गतिविधिमा सहभागी गराइनेछ। यी सबै गतिविधि समेटेर १२ देखि १६ एपिसोड तयार गरी टेलिभिजन, फेसबुक पेज र युट्युब च्यानलबाट प्रसारण गरिनेछ।
०००
न्यूनतम आवश्यकता
घटीमा एसईई पास, ५ फिट उचाइ, १६ देखि २६ वर्ष उमेर, आदिवासी समुदायका अविवाहित युवतीले यस प्रतियोगितामा भाग लिन सक्नेछन्। विभिन्न प्रतियोगितामा सहभागी भई शीर्ष उपाधि जितेका युवतीले अडिसन बिनै सहभागी हुन पाउनेछन्।
०००
पुरस्कार एवं सुविधा
मिस मंगोल नेपाल–२०१९ का विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै विभिन्न जिम्मेवारीसहित चाँदीको ताज, प्याकेज टुर, सपिङ भौचर, म्युजिक भिडियो, विभिन्न उत्पादन तथा कम्पनीको ब्रान्ड एम्बेसडर बन्ने मौका पनि पाउनेछ। प्रतियोगितामा सहभागी सबैलाई लेटर अफ एप्रिसएसन, टोकन अफ लभ, प्रतियोगिताको भिडियो सेट, फोटो सुट, फाइनलका लागि पोसाक, मेकअप, हेयर ड्रेसिङजस्ता विभिन्न सेवा निःशुल्क उपलब्ध गराइने छ।
०००
१० जनालाई ताज
मिस मंगोल नेपाल यसवर्षदेखि मुलुकको संघीय संरचनाअनुसार आयोजना हुँदैछ। मिस मंगोल प्रदेश एक, मिस मंगोल प्रदेश २, मिस मंगोल प्रदेश ३, मिस मंगोल गण्डकी, मिस मंगोल प्रदेश ५, मिस मंगोल प्रदेश ६ र मिस मंगोल सुदूरपश्चिम गरी सातवटै प्रदेशका उत्कृष्ट एकएकजना प्रतियोगीले ताज पाउनेछन्। सात प्रदेशसहित मिस मंगोल नेपाल विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप गरी यस संस्करणदेखि १० जनाले ताज पाउनेछन्। प्रदेशका विजेतालाई सबटाइटल मानिएकाले प्रदेश टाइटल विजेताले मिस मंगोल नेपाल, फस्ट रनरअपवा सेकेन्ड रनरअपको उपाधि पनि पाउन सक्नेछन्।
०००
आवेदन फारमका लागि
एक्सन इन्टरटेनमेन्ट, अनामनगर, काठमाडौं
फोन : ४७७०४७१, ९८१३६०९५८५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here