राप्रपाको प्रदर्शनमा अश्रुग्यास र लाठीचार्ज, सडकमा जे देखियो (फोटो फिचर)

0
63

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंका मुख्य सडक हुँदै र्‍यालीमा आएका राप्रपाका नेता-कार्यकर्ता पद्‍मोदय मोडमा पुगेर कोणसभा गर्न लागेका थिए।

राप्रपाको कार्यक्रमका कारण प्रदर्शनीमार्ग तथा पुलतीसडक रोड अबरुद्ध भएपछि उनीहरूलाई प्रहरीले हटाउन खोज्दा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

झडपका क्रममा प्रहरीले गरेको लाठीचार्जमा कयौँ राप्रपा नेता कार्यकर्ता घाइते भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। उनका अनुसार २६ जना घाइतेको काठमाडौं मोडेल अस्पतालमा प्राथमिक उपचार भएको छ।

राप्रपाका सहमहामन्त्री भरत रायमाझी, विद्यार्थी संघका अध्यक्ष महेशबहादुर सिंह, भक्तपुर जिल्ला अध्यक्ष माधव खत्री, जनदीशराज राजभण्डारी, प्रकाश रिमाल, गुणराज राजभण्डारी लगायतलाई बढी चोट लागेको श्रेष्ठले बताए।

गत फागुनमा ७ गते प्रधानमन्त्रीलाई दिएको २२ बुँदे ज्ञापनपत्र कार्यान्वयनका लागि दबाव दिन भन्दै राप्रपाले चैत ३० गतेसम्म जनसंघर्षका कार्यक्रम घोषणा गरेको थियो। त्यसअन्तर्गत आज सिंहदरबारसहित सातै प्रदेशका मुख्यमन्त्री कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम थियो। हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि भन्दै राप्रपाले अभियानहरू गरिरहेको छ।

‘हामीले प्रदर्शनीमा निषेधित क्षेत्र तोडेका पनि थिएनौँ, सूचना दिएर नै शान्तिपूर्ण कार्यक्रम गरेका हौँ’, श्रेष्ठले भने, ‘सवारी आवागमनमा अवरोध पुगेको भनेर हाम्रा नेता कार्यकर्तामाथि दमन गरियो।‘

प्रहरीले राप्रपा अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको उनले बताए। प्रहरीले त्यसक्रममा लाठीचार्जसहित दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

हेर्नुस् झडपका क्रममा देखिएका दृश्य 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here