सानैमा मधुमेहले सताउला । कसरी जोगीने ?

0
53

धरानकी निनाम्मा राई (परिवर्तित नाम) स्कुलबाट घर पुग्नेबित्तिकै मोबाइल वा कम्प्युटरमा गेम खेल्न थालिहाल्थिन्। खेल्न पाइनन् भने उनी रोइकराइ गर्थिन्। गाडीमा स्कुल जान्थिन्, घर आउँथिन्। घरमा पनि गेम खेलेर बसिरहन्थिन्। हिँडेर कहीं जाँदिनथिन्। त्यसैले उनी को ज्यान मोटो थियो।

एक दिन उनी अचानक बिरामी भइन्। उनका बाबाले हतारहतार अस्पताल लगे। डाक्टरले जाँच्दा त उनलाई मधुमेह (सुगर) भइसकेको रहेछ। अहिले उनलाई इन्सुलिन दिनुपर्छ। डाक्टरले अब सधैं यसरी नै उनलाई इन्सुलिन दिइरहनुपर्छ भनेका छन्।

धरानकै मनीष अग्रवाल (नाम परिवर्तन) पनि स्कुलबाट फर्किनेबित्तिकै बाबाको ट्याब्लेटमा गेम खेल्थे। उनी सधैं चाउचाउ, लेजजस्ता जंकफुड अनि गुलिया लड्डु र मिठाई खान्थे। उनका साथी बाहिर खेल्थे तर उनी घरमै जंकफुड खाँदै ट्याब्लेटमा झुम्मिन्थे। उनी पनि मोटा भएकाले साथीहरू ‘मोटे’ भन्दै जिस्क्याउँथे। हालै उनको स्कुलमा स्वास्थ्य शिविर राखिएको थियो। डाक्टरले जाँच्दा उनलाई पनि मधुमेह भइसकेको रहेछ। अहिले उनी नियमित औषधि लिइरहेका छन्।

मनीष मात्र होइन, उनीजस्तै नियमित जंकफुड खाने, घरभित्रै बसेर गेम खेलिरहने धेरैजना बालबालिकालाई समेत मधुमेह हुन थालेको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले गरेको अध्ययनअनुसार कम्प्युटर वा मोबाइलमा झुम्मिरहने, जंकफुड, फास्टफुड धेरै खाने, मोटोपन भएका बालबालिकालाई सानैमा मधुमेह लाग्ने गरेको पाइएको छ।

चिकित्सकले केही समयअघि प्रतिष्ठानभित्रै रहेको दिल्ली पब्लिक स्कुलका विद्यार्थीमा गरेको मधुमेह परीक्षणका क्रममा ३० जना बालबालिका इन्सुलिन दिनुपर्ने अवस्थाका भेटिए। ‘हाम्रोमा बालबालिकालाई मधुमेह हुन्छ भन्ने कसैले सोचेकै छैन’, प्रतिष्ठानका मधुमेह रोग विशेषज्ञ प्रा.डा. रविन मास्के भन्छन्, ‘त्यसैले यसको अध्ययन पनि भएको छैन तर हाम्रो जीवनशैलीले यो समस्या बढिरहेको छ।’

डा. मास्केका अनुसार कुनै बालबालिकालाई पेटमा भएदेखि नै मधुमेह हुन सक्छ। कसैलाई जन्मनासाथ वा पछि पनि हुन सक्छ। बालबालिकामा धेरैजसो वंशाणुगत रूपमा मधुमेह हुने गरेको छ। भाइरल इन्फेक्सन, कुपोषण, जंकफुड, रासायनिक पदार्थ मिसिएका फास्टफुड र दूधले पनि मधुमेह हुने खतरा रहन्छ।

चिकित्सकका अनुसार बालबालिकालाई हुने मधुमेहलाई टाइप १ मधुमेह भनिन्छ। मधुमेह भइसकेपछि जीवनभर इन्सुलिन दिनुपर्ने हुन्छ। मधुमेहका बिरामीलाई प्रतिदिन आधा युनिट इन्सुलिन दिने गरिन्छ। नसर्ने रोगमध्ये मधुमेहले संसारमै सबैभन्दा धेरैलाई पीडित बनाएको छ। विश्वभरिका ८ प्रतिशत जनसंख्या मधुमेहग्रस्त रहेको तथ्यांक छ। प्रतिष्ठानको मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्माका अनुसार मधुमेहले मुटु र मिर्गौलालाई पनि विस्तारै बिगार्न थाल्छ।

प्रतिष्ठानको ओपीडीमा मधुमेहका बिरामीको संख्या बढिरहेको छ। डा. मास्केका अनुसार कतिपयलाई वर्षौंदेखि मधुमेह भएको थाहै हुँदैन। कोही बेहोस भएर आइपुग्छन्, कोही धेरै दुब्लाएर जाँच्न आउँदा मधुमेह भएको पत्ता लाग्छ।

कसरी जोगिने ?

चिकित्सकका अनुसार बालबालिकालाई मधुमेह हुन नदिन खानपानमा ध्यान दिनुपर्छ। अभिभावकले जंकफुड खान दिनु हुँदैन। धेरै मोटाए जाँच गराइहाल्नुपर्छ। फलफूल खान दिनुपर्छ। जन्मिँदा चार केजीभन्दा बढी तौल भए ध्यान दिनुपर्छ।

गर्भमै हुँदा आमाबाटै पनि जाँच गर्न सकिन्छ। वंशाणुगत मधुमेह भएका परिवारले बालबालिकाको विशेष ध्यान दिनुपर्छ। डा. मास्के भन्छन्, ‘मधुमेह भइसकेपछि टाउकोदेखि खुट्टासम्म असर गर्छ। यसले ज्यानै जान पनि सक्छ। बालबालिकाको जीवनशैलीमा ध्यान दिन सके धेरै हदसम्म मधुमेह लाग्नबाट बच्न सकिन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here