ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको चौथो दिन ईलाम र मोरङको जीत

|

२७ असोज २०८२, काठमाडौँ- बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको DREAM TO PLAY प्रतियोगितामा आज पनि दुई खेलहरू भएका छन्। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न खेलहरूमा ईलाम र मोरङले आ-आफ्ना खेलमा जीत दर्ता गराएका हुन्।

दिनको पहिलो खेलमा ईलामले उदयपुरलाई ७ रनको अन्तरले पराजित गरेको छ। सुरुमा ब्याटिंग गर्न उत्रिएको ईलामले ९ विकेटको क्षतिमा ९७ रनको योगफल तयार पारेको थियो। ९८ रनको लक्ष्य पछ्याएको उदयपुरले केवल ९० रन मात्र बनाउन सक्यो। ४ ओभरको स्पेलमा १४ रन खर्चिएर २ विकेट लिएका श्याम नारायण यादव प्लेयर अफ द म्याच चुनिएका थिए।

त्यस्तै, दिनको दोस्रो खेलमा मोरङले झापालाई ८ विकेटले पराजित गर्यो। सुरूमा ब्याटिङ गर्न उत्रिएको झापाले १८.३ ओभरमा सबै विकेट गुमाएर केवल ७९ रन बनाएको थियो। प्लेयर अफ द म्याच चुनिएका सन्तोष कुमार चौधरीले तीन चौकाको मद्दतले ४३ बलमा ३४ रन बनाएका थिए।

कोशी प्रदेशका झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम गरी पाँच जिल्लाका अण्डर-२३ टिमहरूले एक आपसमा प्रतिष्पर्धा गर्ने यस क्रिकेट प्रतियोगिता मार्फत् उदयीमान खेलाडीहरूलाई उत्कृष्ट खेलकौशल प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिल्ने आयोजकको विश्वास छ। प्रतियोगितामा उच्च प्रदर्शन गर्ने युवा खेलाडीहरूले बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा स्थान पक्का गर्ने छन् भने उनीहरूले टिमसँगै अभ्यासमा सहभागी हुने, कौशलको विकास गर्ने र व्यवसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन्। योसँगै, डेभलपमेन्ट स्क्वाडमा छानिएका मध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्ने छन्।

जारी प्रतियोगितामा भोलि पनि दुई खेलहरू हुने छन्, जस अनुसार बिहान ईलाम र मोरङ एवम् दिउँसो सुनसरी र झापा एक आपसमा भिड्ने छन्।

२०८२ आश्विन २९, बुधबार प्रकाशित
error: Content is protected !!