नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सक्रिय कार्यकर्ता तथा विभिन्न संगठनमा जिम्मेवारी सम्हाल्दै आएका राजेश प्रसाईंले पार्टीसँगको करिब तीन दशक लामो आबद्धता अन्त्य गरेको घोषणा गरेका छन्।
२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीतिक यात्रा सुरु गरेका प्रसाईंले २०५७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए। उनले २०५९ सालमा रत्नराज्य क्याम्पस स्ववियू सदस्यको रूपमा भूमिका निर्वाह गर्नुका साथै झापा–काठमाडौं सम्पर्क मञ्चमा सक्रिय योगदान दिएका थिए।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदै उनी घाइतेसमेत भएका थिए। त्यसपछि उनले प्रवासी नेपाली समुदायमा पनि उल्लेखनीय भूमिका निभाए। मकाउ प्रवासी मञ्चका संस्थापक सदस्य तथा सल्लाहकार रहेका प्रसाईं मकाउ एनआरएनए (NRNA) को २०२१–२०२३ कार्यकालमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामाजिक अभियानमा सक्रिय थिए। हालसम्म उनी नेकपा एमालेको युवा–विद्यार्थी विशेष काठमाडौं समितिमा सल्लाहकार सचिवको भूमिकामा कार्यरत थिए।
पार्टी परित्यागको निर्णय सार्वजनिक गर्दै प्रसाईंले नेकपा एमालेभित्र देखिएका विकृत अभ्यास र नेतृत्वका कमजोरीबारे पार्टी अनुशासनभित्र रहेर निरन्तर बहस र आलोचना गर्दै आए पनि त्यसको आत्मसमीक्षा हुन नसकेको आरोप लगाए। विशेषगरी गत भदौ २३ र २४ गते नवयुवामाथि भएका हिंसा र विध्वंसका घटनापछि पनि पार्टी नेतृत्वले जिम्मेवारी नलिएको भन्दै उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
झापा–५ का मतदाता समेत रहेका प्रसाईंले ती घटनापछि आत्मालोचना नगरी उही शैली र उही नेतृत्व बोकेर आफ्नै घरआँगन तथा आफन्तमाझ मत माग्न जानु आफ्नो नैतिकताले नदिएको बताए।
“जेन–जी उमेर समूहका आफ्नै सन्तानसँग आँखा जुधाएर ‘म एमालेको कार्यकर्ता हुँ’ भन्न सक्ने साहस पार्टीले मभित्र बाँकी राख्न सकेन,” उनले भनेका छन्।
प्रसाईंले आजकै मितिबाट नेकपा एमालेको साधारण सदस्यतासमेत त्यागेको घोषणा गर्दै पार्टीमा रहँदा आफ्ना कारणले भएका कमजोरीहरूप्रति आत्मालोचना गरेका छन्। साथै, देशभर तथा झापा–५ मा नवयुवाले बगाएको रगतको कार्यभार पूरा गर्ने उद्देश्यले झापा–५ का युवा उम्मेदवार बालेन शाहको निर्वाचन अभियानमा सक्रिय सहयोग गर्ने घोषणा पनि गरेका छन्।


|





