झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिर नजिक बेवारीसे अवस्थामा फेला परेको एक थान ३०३ राईफल प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार बिहान करिब सवा ७ बजे स्थानीयवासीले मन्दिरको पूर्वपट्टि गेट नजिक बन्दुक रहेको सूचना दिएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नबिन राईको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीले घटनास्थलमा पुगेर सो हतियार बुझ्दा उक्त ३०३ राईफल म्यागजिनसहित रहेको पाइएको बताएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सो राईफल गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो।
फेला परेको हतियार अहिले इप्रका दमकमा राखिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


|







