मङ्सिर २५, दमक / मुख्य कार्यालय दमकमा रहेको डाईनामिक पब्लिक लाइब्रेरी (DPL) को छैटौँ महाधिवेशन यही मंसिर २७ गते बिहान ९ बजेबाट झापाको दमकस्थित गोर्खा डिपार्टमेण्टको हलमा हुने भएको छ। शुक्रबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी महाधिवेशनका तयारीबारे जानकारी गराइएको हो।
पत्रकार सम्मेलनमा बोल्दै DPL अध्यक्ष अनु आचार्य भण्डारीले सबै शाखाबाट प्रतिनिधिहरूको चयन भइसकेको र महाधिवेशन भव्यरूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले आफ्नो कार्यकालभर युवाहरूमा पठन संस्कृतिको विकासका उद्देश्यले विविध कार्यक्रम तथा गतिविधि संचालन गरिएको पनि उल्लेख गर्नुभयो।
महासचिव गुणराज गिरीले संस्थाले पछिल्लो समय देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै युवाहरूलाई पठन संस्कृतिमा जोड्ने अभियानलाई व्यापक बनाइरहेको बताउनुभयो। उहाँका अनुसार DPL ले युवाहरूमा सकारात्मक सोच, पठनप्रति रुचि र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
सस्थापक अध्यक्ष भेषराज न्यौपानेले पुस्तकमै नयाँ खोज र नयाँ सोच जन्मने भएकाले DPL को स्थापना युवाहरूमा पढ्ने संस्कृतिलाई पुनः सक्रिय बनाउन गरिएको बताउनुभयो। उहाँले यो अभियानलाई देशभित्र मात्र सीमित नराखी विदेशसम्म विस्तार गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो।
यसैबीच, निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार हालका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद खतिवडा (दिवस) अध्यक्षमा निर्वाचित हुने लगभग पक्का देखिएको छ। समितिद्वारा सार्वजनिक एकल उम्मेदवारी सूचीअनुसार अन्य पदहरूमा —
वरिष्ठ उपाध्यक्ष: गुणराज गिरी
महासचिव: कमल गैरे
उपाध्यक्ष: मनि गिरी
कोषाध्यक्ष: जीवलोक सापकोटा
निर्देशकहरू: जेनीस चौलागाई, अस्विन तिम्सिना, दिपक न्यौपाने, मनिका गिरी एकल उम्मेदवारका रूपमा छन्।
पत्रकार सम्मेलनमै बोल्दै उपाध्यक्ष तथा आगामी अध्यक्ष बन्ने सम्भावनामा रहनुभएका खतिवडाले युवानेतृत्व विकास र युवाउद्यमशीलताका क्षेत्रमा आफूले अनुभव र क्षमताअनुसार प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
DPLको छैटौँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी वर्षका योजनाबद्ध गतिविधि तय गर्नेछ।


|





