मङ्सिर २३, दमक / लामो समयदेखि रोकिएको दमक नगरपालिकाको बजार तथा खाद्य सुरक्षा अनुगमन पुनः तिव्र गतिमा अघि बढाइएको छ। केही महिनादेखि विभिन्न कारणले रोकिएको अनुगमन कार्य मंगलबारदेखि पुनः सक्रिय गरिएको हो।
उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाईको नेतृत्वमा टोलीले दमक अस्पताल, आम्दा अस्पताल तथा मालपोत कार्यालय परिसरमा रहेका होटल तथा खाजाघरहरूको विस्तृत अनुगमन गरेको थियो। अनुगमनका क्रममा भान्सा घरको स्वच्छता, खाद्य वस्तुको भण्डारण, खाद्यपदार्थको म्याद, कार्यस्थल सरसफाइ तथा उपभोक्तालाई उपलब्ध गराइने सेवाको गुणस्तर जाँच गरिएको थियो।
अनुगमनका क्रममा केही स्थानमा म्याद गुज्रिएका तथा अखाद्य वस्तु भेटिए पनि धेरैजसो व्यवसायीले अघिल्लो अनुगमनपछि आफ्नो कमजोरी सुधार गरेको पाइएको संयोजक प्रसाईले बताइन्। उनले भनिन् “यसअघिको अनुगमनमा धेरै स्थानमा कसरी व्यवस्थित गर्ने भन्ने चुनौती थियो, तर यसपटक अधिकांश व्यवसायीले सुधार देखाएका छन्।”
त्यसैगरी, बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण अधिकृत लक्ष्मी न्यौपानेले उपभोक्ताको स्वास्थ्यलाई व्यवसायीहरूले सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन्। उनका अनुसार, “उपभोक्ताको स्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हो। हामीले व्यवसायीहरूलाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्न र सुरक्षित रूपमा खाद्यान्न बिक्री–वितरण गर्न निर्देशन दिएका छौँ।”
दमक नगरपालिकाले विगतदेखि नै बजार तथा खाद्य सुरक्षासम्बन्धी अनुगमनलाई निरन्तरता दिँदै आएको भए पनि भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा नगर कार्यालयमा क्षति पुगेपछि केही समयका लागि अनुगमन रोकिएको थियो। अब भने यो प्रक्रिया पुनः तिव्र गतिमा अघि बढाइएको नगरपालिका स्रोतले जनाएको छ।


|





