दमकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

|

मङ्सिर २४, दमक / हरेक वर्ष नोभेम्बर २५ (१६ मंसिर) देखि सुरु हुने ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ यस वर्ष पनि दमकमा विभिन्न सचेतनामूलक कार्यक्रमसहित सम्पन्न भएको छ। दमक नगरपालिकाले १६ दिनसम्म जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया, सचेतना कार्यक्रम, तथा विविध गतिविधि सञ्चालन गरी आज (डिसेम्बर १०) अभियान समापन गरेको हो।

 

महिला तथा बालबालिका शाखाको आयोजनामा सम्पन्न समापन समारोह सामाजिक विकास समिति संयोजक शारदा सापकोटाको अध्यक्षता तथा नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

 

समारोहमा बोल्दै नगरप्रमुख थापाले प्रत्येक वर्ष आयोजना हुने अभियानको प्रभावकारिताबारे मूल्यांकन गर्न आवश्यक रहेको बताएका थिए। “हामी वर्षेनी कार्यक्रम गर्छाैं, तर लैङ्गिक हिंसा जस्ता जघन्य अपराधमा कमी आएको छ कि छैन भन्ने पक्षमा सबैको ध्यान जान जरुरी छ,” नगरप्रमुख थापाले भने।

 

अभियानका क्रममा सहयोग पुर्‍याउने विभिन्न संघ–संस्थालाई नगरपालिकाले सम्मान पनि गर्यो। सोही अवसरमा नगरपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।

 

उक्त प्रतियोगितामा झापा मोडल अंग्रेजी विद्यालयका प्रज्वल पाठक प्रथम, पाथीभरा अंग्रेजी विद्यालयकी एलिसा थपलिया द्वितीय, ग्लोबल एजुकेशनल एकेडेमिकी जानुका बुढाथोकी क्षेत्री तृतीय तथा दमक बहुमुखी क्याम्पसकी अरुणा बस्नेत चौथो भएकी थिइन्।

 

समापन कार्यक्रममा दमक नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

२०८२ मंसिर २४, बुधबार प्रकाशित
error: Content is protected !!