माङ्जाबुङ दमक सेवा समाजद्वारा दोमुखामा भव्य वनभोज कार्यक्रम सम्पन्न

|

झापा, दमक — दमक नगरपालिका–२ मा कार्यालय रहेको माङ्जाबुङ दमक सेवा समाजले शिवसताक्षी नगरपालिका–२, दोमुखामा भव्य वनभोज कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेको समाजले जानकारी दिएको छ।

पाँचथरको कुमाई गाउँपालिका–२ माङ्जाबुङबाट बसाइँ सरेर मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा बसोबास गर्दै आएका व्यक्तिहरूबीच सम्बन्ध विस्तार र एकता–सद्भाव बढाउने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको थियो।

२०७८ सालमा स्थापना भई दमक–२ मा कार्यालय सञ्चालन गर्दै आएको माङ्जाबुङ दमक सेवा समाजले निरन्तर सामाजिक गतिविधि गर्दै आएको समाजका अध्यक्ष कुमार बस्नेतले बताए। उनका अनुसार समाजले समुदायबीच आपसी सहयोग, भेटघाट र सांस्कृतिक पहिचान जोगाउने अभियानका रूपमा कार्यक्रम अघि बढाएको हो।

कार्यक्रममा समाजका दलबहादुर शेर्मा, महिला उपाध्यक्ष शर्मिला आङदेम्बे शर्मा, सचिव धनुषा शर्मा, कोषाध्यक्ष एलबी बस्नेत तथा अन्य पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । वनभोजले सहभागीहरूबीच आपसी सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

२०८२ मंसिर २३, मंगलवार प्रकाशित
error: Content is protected !!