News JHAPA । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार उक्त प्रशिक्षण आगामी २०८२ साल चैत्र ३ र ४ गते काठमाडौंमा सञ्चालन हुने बताइएको छ।
पार्टीका तर्फबाट निर्वाचित सबै प्रतिनिधिसभा सदस्यहरूलाई कार्यक्रमका लागि तयारी अवस्थामा रहन सूचित गरिएको छ। प्रशिक्षण कार्यक्रम बिहान १०:०० बजेदेखि सुरु हुने तय गरिएको छ।
सूचनाअनुसार सहभागी सांसदहरूलाई चैत्र ३ गते बिहान ९:०० बजे काठमाडौं उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ। अभिमुखीकरण कार्यक्रममा सांसदहरूको भूमिकाबारे जानकारी, संसदीय अभ्यास, कानुनी प्रक्रिया तथा नीति निर्माणसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नव निर्वाचित सांसदहरूलाई संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान र तयारी गराउने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले सबै सांसदहरूलाई समयमै उपस्थित भई प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।


|





