झापा । नेपालका साना तथा मझौला व्यवसायीहरूलाई लक्षित गर्दै विकसित गरिएको कारोबार एप ले गुगल प्ले स्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पार गरेको छ। नेपालमै विकास भएको यस एपले छोटो समयमा ठूलो प्रयोगकर्ता आधार बनाउँदै स्थानीय डिजिटल समाधानप्रति बढ्दो विश्वास झल्काएको छ।
कम्पनीका अनुसार, पारिवारिक किराना पसलमा उधारो हिसाब मिलाउन र दैनिक कारोबार व्यवस्थापनमा देखिएको समस्याबाट प्रेरित भएर समीर फुयाँलले कारोबार एपको अवधारणा विकास गर्नुभएको हो। वास्तविक आवश्यकताबाट सुरु भएको यो समाधान अहिले हजारौँ व्यवसायीको दैनिकीको हिस्सा बनेको छ।
साना व्यवसाय लक्षित सुविधा
कारोबार एप विशेषगरी किराना पसल, होटल तथा रेस्टुरेन्ट, फार्मेसी र मोबाइल पसलजस्ता व्यवसायका लागि उपयुक्त बनाइएको छ। एपमा उधारो तथा पाउने हिसाब, बिक्री–खर्च विवरण, कस्टम इनभ्वाइस, व्यवसाय रिपोर्ट, स्टक तथा इन्भेन्ट्री व्यवस्थापन, ग्राहक तथा सप्लायर खाता, मल्टि–स्टाफ एक्सेस र रिपोर्टिङजस्ता सुविधाहरू उपलब्ध छन्।
नेपाली भाषा र अफलाइन सुविधा
एप नेपाली भाषामा प्रयोग गर्न सकिने र धेरै अवस्थामा इन्टरनेट बिना पनि चल्ने सुविधा उपलब्ध भएकाले ग्रामीण क्षेत्रका व्यवसायी र साना बजारमा सञ्चालन हुने पसलहरूका लागि यो अझ उपयोगी बनेको कम्पनीले जनाएको छ।
नेपालबाहिर पनि विस्तार
हाल कारोबार एप एन्ड्रोइड, iOS र वेब संस्करणमा उपलब्ध छ। व्यवसायिक प्रयोजनसँगै धेरै प्रयोगकर्ताले यसलाई व्यक्तिगत आम्दानी–खर्च व्यवस्थापनका लागि पनि प्रयोग गरिरहेका छन्।
नेपाल बाहिर बङ्गलादेशमा ‘Karbar App’ नामबाट उपलब्ध यो एपले त्यहाँ ५० हजारभन्दा बढी डाउनलोड हासिल गरिसकेको छ। यसले दक्षिण एशियाली बजारमा पनि एपको पहुँच विस्तार हुँदै गएको संकेत गर्छ।
थप फिचरको तयारी
कम्पनीका अनुसार, आगामी दिनमा थप नयाँ फिचर र सेवासहित कारोबार एपलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको छ। कारोबार एपलाई साना तथा मझौला व्यवसायीका लागि दैनिक हिसाब व्यवस्थापनदेखि निर्णय सहयोग गर्ने डिजिटल पार्टनरका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।


|





