अमेजनको नाफा २ सय प्रतिशतले बढ्यो

|

२० वैशाख, काठमाडौँ । अमेरिकी इ-कमर्श कम्पनी अमेजनको मुनाफामा ऐतिहासिक वृद्धि भएको छ । महामारीका कारण अनलाइन किनमेल फस्टाउनुका साथै क्लाउड र विज्ञापन व्यवसाय समेत चम्किँदा अमेजनको खूद आयमा २ सय २४ प्रतिशतले वृद्धि भएको हो ।

बिहिबार सार्वजनिक रिपोर्ट अनुसार जनवरी देखि मार्च सम्मको त्रैमासिक अवधिमा अमेजनले वालस्ट्रिटको प्रक्षेपणलाई गलत साबित गर्दै ८ अर्ब १० करोड मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा २२४ प्रतिशतले बढि हो । पहिलो त्रैमासिक अवधिमा अमेजनले ४ अर्ब ९८ करोड मुनाफा आर्जन गर्ने प्रक्षेपण वालिस्ट्रिटको थियो ।

पहिलो त्रैमासिक अवधिमा अमेजनको कूल आम्दानी चाहीँ १ खर्ब ८ अर्ब ५० करोड डलर रहेको छ । जुन गत वर्षको पहिलो त्रैमासिकको भन्दा ४४ प्रतिशतले बढी हो ।

मुनाफा तथा आम्दानीमा व्यापक वृद्धि भएको रिपोर्ट सार्वजनिक भएसँगै अमेजनको शेयर मूल्यमा पनि वृद्धि देखिएको छ । विश्लेषकहरुका अनुसार महामारीको यो समयमा अमेजनको व्यवसायिक ढाँचा सबैभन्दा मुनाफायुक्त तथा लाभदायी छ ।

अमेजनको क्लाउड बिजेनसको रुपमा रहेको अमेजन वेब सर्भिसले मात्रै पहिलो त्रैमासिक अवधिमा साढे १३ अर्ब डलरको आम्दानी गर्न सफल भएको छ । साथै अमेजनले आफ्ना अमेजन प्राइमका सशुल्क सब्सक्राइबरको सख्या २० करोड पुर्‍याएको छ ।

दोश्रो त्रैमासिक अवधिमा कम्पनीको आम्दानीको वृद्धिदर कायमै रहने प्रक्षेपण पनि अमेजनले गरेको छ । दोश्रो त्रैमासिक अवधिमा अमेजनले १ खर्ब १० अर्बदेखि १ खर्ब १६ अर्बसम्म आम्दानी गर्नसक्ने प्रक्षेपण कम्पनीको छ ।

सिएनएनबाट

२०७८ बैशाख २०, सोमबार प्रकाशित
error: Content is protected !!