आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

|

पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो ।

धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पछिल्लो समय सेयर सम्बन्धी जनचेतना बढेको बताउँछन् । जसका कारण आईपीओ भर्नेहरुको संख्या ठूलो छ । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्नुको एउटा कारण लकडाउन पनि हो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद लकडाउनमा अन्य क्षेत्रहरु बन्द हुँदा लगानीकर्ताहरुको आकर्षण ह्वात्तै बढेको बताउँछन् । घरबाटै कारोबार गर्न सकिने भएका कारण पनि निकै आकर्षण बढेको उनको तर्क छ ।

सेयर बजारमा दुई वटा बजार हुन्छन् । एउटा-प्राथमिक, अर्को- दोस्रो बजार । प्राथमिक बजारमा आईपीओ भरेर सेयर हात पार्न सकिन्छ । सामान्यतयाः सय रुपैयाँ अंकित मूल्यमा नै आईपीओ पाइन्छ । दोस्रो बजारमा भने बजार मूल्य अनुसार ब्रोकर कम्पनीमार्फत सेयर किनबेच गर्न सकिन्छ ।

तुलनात्मक हिसाबले आईपीओमा गरिएको लगानी सुरक्षित हुन्छ । गोलाप्रथाबाट हात पर्ने आईपीओ पर्यो भने चाहिँ कति रुपैयाँसम्म पुग्छ त ? पछिल्लो उदाहरणहरु हेर्ने हो भने लगानी सुरक्षितमात्रै होइन लगानीको ३४ गुणासम्म आम्दानी गरेका छन् । थोरै कमाएहरुले पनि ३ सय प्रतिसम्मले नाफा आर्जन गरेका छन् ।

नयाँ लगानीकर्ताहरुले आईपीओ नै भर्नु उचित हुने नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल बताउँछन् । दोस्रो बजारमा जोखिम हुने भएकाले नयाँ लगानीकर्ताले जोखिम नहुने प्राथमिक बजार नै रोज्नु पर्ने उनको सुझाव छ ।

यसकारण फाइदाजनक छ आईपीओ

डेढ महिना अघिमात्रै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको महिला लघुवित्तको आईपीओको मूल्य २० वैशाख २०७८ सम्म ३ हजार ७ सय ८० रुपैयाँ पुगेको छ । सूचीकृत भएसँगै लगातार बढिरहेको यस संस्थाको सेयर मूल्य अझै कतिसम्म बढ्ने हो वा यहिँ ब्रेक लाग्ने हो टुंगो छैन ।

यसको १० कित्ता आईपीओ हात पार्नेहरुले १ हजारमात्रै लगानी गरेका थिए । अहिले ३७ हजार ८ सय रुपैयाँ पुगेको छ । अर्को चन्द्रागिरी हिल्स लिमिटेडको  मूल्य २ हजार ८ सयसम्म पुग्याे । अर्थात एक हजार रुपैयाँ लगानी गरेर १० कित्ता सेयर हात पारेकाहरुले २८ हजारसम्म कमाए । २८ सय पुगेपछि भने ब्रेक लागेर तल झरेको छ । अहिले पनि २ हजार आसपासमै छ ।

यसैगरी सानिमा जनरल इन्स्यारेन्सको आईपीओ सूचीकृत भएर ९ सय रुपैयाँसम्म पुग्यो भने माउन्टेन इनर्जीको ८८४ रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ७ सय २६ रुपैयाँसम्म पुग्यो । निफ्राको त रितपूर्वक आवेदन दिने सबैले ५० कित्ता आईपीओ पाएका छन् । केहि भाग्यमानीहरुले ६० कित्तासम्म पाए ।

६० कित्ता सेयर पर्नेहरुले उच्च विन्दुमा पुग्दा ४३ हजार रुपैयाँसम्ममा बेच्न सके । अहिलेसम्म होल्ड गरेका ६ हजार लगानी गर्ने ६० कित्ते सेयरधनीहरुले पनि ३२ हजार रुपैयाँ माथिमा बेच्न पाउँछन् ।

साँवा घटाउँदा पनि २६ हजार रुपैयाँ फाइदामै देखिन्छ । अलि कम मूल्य देखिएको लिवर्टी इनर्जीको पनि ३५० रुपैयाँसम्म देखिएको थियो । गत दशैं-तिहार पछिको तथ्यांक हेर्ने हो भने आईपीओमा कम मूल्यमै रोकिने सम्भवतः लिवर्टी नै हो ।

कतिसम्म बढ्यो आईपीओको मूल्य ?

कम्पनीका नाम अधिकतम् मूल्य
महिला लघुवित्त ३७८०
चन्द्रागिरी हिल्स २८००
सानिमा जनरल इन्स्यारेन्स ९००
माउन्टेन इनर्जी ८८४
इन्फ्रास्ट्रक्चर बैंक ७२६
लिवर्टी इनर्जी ३५०

श्रोत : अनलाइन खबर

२०७८ बैशाख २०, सोमबार प्रकाशित
error: Content is protected !!