तारा एयर जहाज दुर्घटना : मानापाथी हिमालको सानोसरेबाट १० शव कोवाङ ल्याइयो

|

जोमसोम : तारा एयरको जहाज दुर्घटनामा परि मृत्युका १० जनाको शव मुस्ताङको थासाङ–२ को कोवाङ गाउँमा ल्याइएको छ। अहिलेसम्म १६ जनाको शव फेला परेको छ।

अन्य शव पनि दुर्घटनास्थलबाट फिस्टेल एयर र कैलाश एयरको माउन्टेन हेलीले कोवाङमा ल्याउने तयारी भइरहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।

अहिले समुन्द्री सतहदेखि ४५ सय मिटरको उचाईमा अवस्थित सानोसरे पहाडबाट जम्मा गरिएका १० जना व्यक्तिको शवको प्रहरीले मुचुल्का गर्ने कामलाई अघि बढाएको वडाध्यक्ष शेरचनले बताए ।‘भेटिएका १६ शवमध्ये १० शव आइसक्यो,६ वटा आउँदैछन्,वडाध्यक्ष शेरचनले भने,’शवको मुचुल्कासहित कानुनी प्रक्रिया पुरा गरेपछि बेसी झारिएको शव सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी छ ।’

पछिल्लो पटक थप २ शव भेटिएपछि जहाजमा यात्रा गर्ने १६ जनाको शव फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनजंग कार्कीले जानकारी दिए ।

जहाज दुर्घटनामा परेका अन्य यात्रुको खोजी गर्ने क्रममा मानापाथी हिमालको क्षेत्रमा वर्षा भइरहेकाले दिउँसो १ :४५ बजेबाट शव खोजी गर्ने कार्य स्थगित गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १० :१० मिनेटमा सम्पर्कविहीन भएको थियो ।जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । ६ शव खोज्न बाँकी रहेको छ । Annapurna Post

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित
error: Content is protected !!