दमकमा फागुन ११ गते देखी नवौँ फुड फेस्टिभल हुने स्टल बुकिङ खुल्ला गरिएको छ

|

दमक : झापाको दमकमा नवौँ दमक फुड फेस्टिभल २०७९ हुने भएको छ । यही फागुन ११ गते देखी १९ गते सम्म नौ दिन सम्म फेस्टिभल आयोजना गरिने शुक्रवार दमकमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

होटेल व्यवसायी सङ्घ दमकले फुड फेस्टिभल दमक-७ स्थित पशु हाटमा रहेको खाली जमिनमा हुने जानकारी गराएको छ। होटेल व्यवसायी सङ्घ दमकका महासचिव तथा नवौँ फुड फेस्टिभल-२०७९ का संयोजक भूपेन्द्र न्यौपानेका अनुसार दमकलाई अर्ग्यानिक हब बनाउने र दमकको मौलिक खानाको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

फुड फेस्टिभलले दमकमा अहिले देखिएको व्यवसायीक तरलतालाई चलायमान बनाउन र होटलहरुका खानाका परिकार र स्वादको प्रवर्द्धन समेत हुने भएकाले फुड फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक होटेल व्यवसायी सङ्घ दमकका अध्यक्ष योगराज दंगालले बताए । फुड फेस्टिभलका माध्यमबाट दमकलाई चिनाउन पनि आफूहरू लागिपर्ने उनको भनाइ थियो ।

सघका पूर्व अध्यक्ष समेत रहेका होटेल व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष राजन दंगालले दमकमा जातीय परिकारलाई प्रवर्द्धन गर्न फुड फेस्टिभलले योगदान पुर्याउने उल्लेख गरे । जातीय परिकारहरूलाई अन्य ठाउँमा पनि ब्राण्डिङ गरिएको र विभिन्न देशमा सहभागी हुन जाँदा पनि त्यहाँबाट देखिएको उल्लेख गर्दै अध्यक्ष दँगालले कुन परिकारलाई कसरी ब्राण्डीङ गर्ने भन्ने बारे पनि आफूहरूले सोचविचार गर्ने धारणा राखे ।

नौ दिन सम्म चल्ने फुड फेस्टिभलमा विभिन्न कलाकारहरूको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । फुड फेस्टिभलमा कलाकारहरू एलिना चौहान, अस्मिता अधिकारी, ज्योति मगर, सुगम पोखरेल, रचना रिमाल, त्रिशाला गुरुङ, मेलिना राई र महेश काफ्लेको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रवेश गर्न एक सय रुपैयाँको प्रवेश पास खरिद गर्नु पर्ने छ । महोत्सव न्यूनतम ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । ३५ लाख ७० हजार अनुमानित खर्च हुने आयोजकको प्रक्षेपण रहेको छ भने यसबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने आयोजकले लक्ष्य राखेको छ ।

स्टल बुकिङ सम्पर्क :9842620156.9852620881, 9852658800

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित
error: Content is protected !!