माघ २८ दमक/ पूर्व विद्यार्थीहरूको पहलमा स्थापना गरिएको “बाल्यकालको साथी” संस्थाले आज पृथ्वी मा बि दमकमा व्यानर अनावरण तथा विद्यालय घण्टीको इलेक्ट्रोनिक डिभाइस उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा करिब ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ।

वि.सं. २०८२ सालमा स्थापना भएको “बाल्यकालको साथी” संस्था विभिन्न क्षेत्र तथा स्थानमा छरिएका बाल्यकालका साथीहरूलाई पुनः एकजुट गर्दै आपसी मित्रता, समाजसेवा, शैक्षिक जागरण तथा सामाजिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यका साथ गठन गरिएको हो। संस्थाका सम्पूर्ण सदस्यहरू पृथ्वी मा.वि.का पूर्व विद्यार्थीहरू हुन्।

औपचारिक कार्यक्रम
कार्यक्रम संस्थाका सचिव विनोद राईले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो। संस्थाका अध्यक्ष चन्दन महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन थापा प्रमुख अतिथि रहनु भएको थियो। वडा सदस्य मान बहादुर खवास विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो तथा अभिभावक संघ को तर्फबाट लाल सुन्दर राई, कराते जिल्ला सदस्य आशिष राई लगायतका अतिथिहरू को उपस्थित थियो ।
विद्यालयका प्रधानाध्यापक विष्णु राई, बिद्यालय अभिभावक संघ को तर्फबाट लाल सुन्दर राई,बिद्यालय ब्यबस्थापन को तर्फबाट मोहन थापा,जनप्रतिनिधी को तर्फ बाट मान बहादुर खवास लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको औचित्य तथा समापन मन्तव्य अध्यक्ष महतोले प्रस्तुत गर्नुभएको थियो।

सहयोग र प्रतिबद्धता
कार्यक्रमकै अवसरमा विद्यालयमा जडान गरिएको इलेक्ट्रोनिक घण्टी प्रणालीको उद्घाटन गरिएको थियो। उक्त प्रणालीले विद्यालय सञ्चालनलाई थप व्यवस्थित र समयमै सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
संस्थाका सचिव विनोद राईले “बाल्यकालको साथी” आगामी दिनहरूमा निष्पक्ष ढंगले पिछडिएका वर्ग, विभिन्न विद्यालय तथा गरिब–दुःखीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै संस्थालाई राजनीतिक पहुँचबाट टाढा राख्दै शुद्ध सामाजिक र शैक्षिक सेवामा केन्द्रित रहने जानकारी दिनुभयो।

कार्यक्रमले पूर्व विद्यार्थीहरूबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै विद्यालयप्रति उत्तरदायित्व र योगदानको भावना अझ बलियो बनाएको सहभागीहरूले बताएका छन्।


|





