अग्रवालको नयाँ मोड: कांग्रेसबाट अलग, परिवर्तनको अभियानमा

|

झापा — नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ का क्षेत्रीय प्रतिनिधि तथा क्षेत्रीय सदस्यका रूपमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका दिनेश अग्रवालले बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी परित्यागको घोषणा गर्नुभएको छ।

अग्रवालले देशको वर्तमान राजनीतिक अवस्था, जनताको बढ्दो परिवर्तनको चाहना र वास्तविक सुधारको आवश्यकतालाई आत्मसात गर्दै अब नयाँ राजनीतिक मार्ग रोज्ने निर्णय गरेको बताउनुभएको छ। उहाँले नेपाली जनतामाझ आशा, साहस र परिवर्तनका प्रतीकका रूपमा उदाउनुभएका बालेन्द्र शाहप्रति विश्वास व्यक्त गर्दै उहाँको चुनाव चिन्ह “घण्टी” मा मतदान गर्न तथा गराउन आफू आजैदेखि पूर्ण रूपमा समर्पित रहने घोषणा गर्नुभएको छ।

उहाँले जारी गर्नुभएको वक्तव्यमा आजकै मितिदेखि आफू नेपाली कांग्रेसको कुनै पनि तह वा संरचनामा आबद्ध नरहेको स्पष्ट पार्दै अब आफ्नो राजनीति पद र प्रतिष्ठाभन्दा माथि उठेर परिवर्तनको अभियानमा केन्द्रित हुने उल्लेख गर्नुभएको छ।

अग्रवालले देश निर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गर्दै राजनीतिक यात्राको नयाँ अध्याय सुरु भएको बताउनुभएको छ।

“अब मेरो राजनीति पदका लागि होइन, परिवर्तनका लागि हुनेछ,” उहाँले भन्नुभएको छ।

२०८२ फाल्गुन ५, मंगलवार प्रकाशित
error: Content is protected !!