नेकपा एमालेको झण्डा जलाएको आरोपमा दाङबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराका अनुसार बिहीबार राति करिब साढे ९ बजे दाङको वीरेन्द्र चोकमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वागत कार्यक्रममा ठूलो भीड जम्मा भएको थियो। सोही भीडका बीच एक अपरिचित व्यक्तिले नेकपा एमालेको झण्डा जलाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान सुरु गरेको हो।
सामाजिक सञ्जालमा भिडियो तीव्र रूपमा फैलिनासाथ घटनाले राजनीतिक वृत्तमा समेत चर्चा पाएको थियो। त्यसपछि प्रहरीले भिडियोको आधारमा अनुसन्धान गर्दै बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण, संलग्नता र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको छ। घटनाले स्थानीय स्तरमा राजनीतिक संवेदनशीलता बढाएको भन्दै सुरक्षा सतर्कता पनि कडाइ गरिएको छ।
यस घटनाले सार्वजनिक कार्यक्रममा राजनीतिक दलका प्रतीकको सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने विषयमा फेरि बहस सुरु गराएको छ। स्थानीय बासिन्दाले यस्ता गतिविधिले अनावश्यक तनाव सिर्जना गर्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।
प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।


|





