निश्चित ब्याचबाहेकका करेन्ट चाउचाउ खान योग्य रहेको यशोधा फुड्सको स्पष्टिकरण
काठमाडौँ। यशोधा फुड्स प्रा.लिले निश्चित ब्याच नम्बर बाहेकका करेन्ट चाउचाउ पूर्ण रूपमा खान योग्य रहेको जनाएको छ।
कम्पनीले आइतबार एक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहीन ठहर गरेको ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्राम को उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको उत्पादनमा मात्र उक्त सूचना लागू हुने स्पष्ट पारेको हो।
कम्पनीका अनुसार उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए बाहेक अन्य मितिमा उत्पादन भएका ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण करेन्ट चाउचाउ सुरक्षित रूपमा उपभोग गर्न सकिने जनाएको छ।
यशोधा फुड्सले जारी गरेको सूचनामा भनिएको छ, “खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ।”

कम्पनीले उपभोक्ता, बिक्रेता तथा अधिकृत वितरकलाई सो निश्चित ब्याचबाहेकका अन्य उत्पादनहरू ढुक्क भएर बिक्री वितरण तथा उपभोग गर्न आग्रह गरेको छ।
यसअघि खाद्य तथा गुण नियन्त्रण कार्यालयले गुणस्तर परीक्षणका क्रममा निश्चित ब्याचका करेन्ट चाउचाउमा समस्या देखिएको भन्दै सम्बन्धित उत्पादन बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो।


|





