दमकका स्वस्थकर्मी चन्द्र थापाद्वारा एमाले परित्याग, रास्वपाका उम्मेदवार बालेन शाहलाई समर्थन

|

फेसबुकमार्फत घोषणा गर्दै झापा–५ का मतदातालाई ‘घण्टी’ चिन्हमा मतदान गर्न आग्रह

झापा — दमक नगरपालिका–१ निवासी स्वस्थकर्मी तथा युवा व्यक्तित्व चन्द्र थापाले नेकपा (एमाले) परित्याग गर्ने घोषणा गरेका छन्। लामो समयदेखि एमालेको जनवर्गीय संगठनमा विभिन्न पदमा रहेर काम गर्दै आएका थापा हाल एमाले दमक नगर कमिटी सदस्यका रूपमा कार्यरत थिए।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले बदलिँदो राजनीतिक परिस्थिति अनुसार नेकपा एमालेको संगठित सदस्यता सहित सबै जिम्मेवारी परित्याग गरेको जानकारी दिएका हुन्।

फेसबुक स्टाटसमार्फत झापा–५ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहलाई ‘घण्टी’ चुनाव चिन्हमा मतदान गर्न तथा गराउन लाग्ने प्रण गरेको उल्लेख गरेका छन्। साथै उनले बालेन शाहलाई अत्यधिक मतले विजयी गराउन सबैमा हार्दिक अनुरोध गरेका छन्।

चन्द्र थापाको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। लामो समयदेखि एमालेसँग आबद्ध एक सक्रिय युवा कार्यकर्ताले पार्टी परित्याग गर्दै वैकल्पिक राजनीतिक शक्तिलाई समर्थन जनाउनु आगामी राजनीतिक समीकरणका लागि अर्थपूर्ण रूपमा हेरिएको छ।

२०८२ फाल्गुन ५, मंगलवार प्रकाशित
error: Content is protected !!